Logo
Logo
बागमती प्रदेश

मुख्यमन्त्री जम्कट्टेलले जुटाए समर्थन, टर्‍यो संकट



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकार टिकाउन समर्थन जुटाएका छन् ।
बागमती सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो ।

चार दलको सहमतीसँगै समर्थन फिर्ता लिएको एकहप्ता नवित्दै हानेपा पनि सरकारमा फर्किएको छ । हानेपा सरकारमा सहभागी भएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारको संकट टरेको छ । बिहीबार नै हानेपाका प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ ।

बिहीबार साँझ भएको चार दलीय सहमतीमा बाँकी कार्यकाल सहकार्य गरी सरकारलाई स्थायित्व दिने प्रतिवद्धता जनाएका छन् । त्यस्तै, सरकारको नेतृत्वमा सत्ता गठबन्धनका दलबीच समझदारी कायम गर्ने सहमति पनि भएको छ । शपथ खाएपछि मन्त्री बज्राचार्यले संसदीय दलको अधिकारका हिसाबले समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएपछि सरकारमा सहभागी भएको दाबी गरेका थिए ।

सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र र साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति पनि चार दलबीच भएको छ । साथै, चार दलबीच मन्त्रिपरिषद्मा रहने सदस्यको संख्या निर्धारण र मन्त्रालय बाँडफाँटका विषयमा समझदारी बनाउने सहमति पनि भएको छ ।

सहमतिपत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादी संसदीय दलका नेता डा. राजेन्द्रमान श्रेष्ठ र हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् । यससँगै केही दिनमै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत दिने तयारी गरेका छन् ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेसले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्