
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तिको ६ अर्ब रुपैयाँ तत्काल तिर्न देशभरका विभिन्न स्थानीय तहलाई आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै विभिन्न सरोकारवाला निकायले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न भनेको हो ।
त्यस्तै प्राधिकरणले स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ ।
प्राधिकरणले रीतपूर्वक सडक बत्तीको ग्राहक नबनेका, महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडक बत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ ।














