Logo
Logo

संघीयता कार्यान्वयन सम्बन्धी कानुन बन्दै



काठमाडौं । सरकारले संघीयता कार्यान्वयन सम्बन्धी १ सय १७ वटा कानुन बनाउने भएको छ । हाल सरकारले कानुन बनाउने भनेर विषय समेत पहिचान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिसकेको बताए ।

उनले अध्ययन पश्चात सम्बन्धित मन्त्रालयहरूलाई सम्बन्धित विषयको कानुनको मस्यौदालाई अन्तिम रूप दिएर प्रक्रियामा अगाडि बढाउने उल्लेख गरे । शुक्रबार राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले पहिचान गरिएका ११७ वटा विधेयकको मस्यौदामध्ये २१ वटा विधेयक पेश हुने क्रममा रहेको बताए ।

‘यी २१ वटा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिमा विचाराधीन छन् । थप ७ वटा विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुनी रायको प्रक्रियामा छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले ११७ मध्ये मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयमा रहेका बाहेकका विधेयकका मस्यौदालाई सम्बन्धित मन्त्रालयले अन्तिम रूप दिन लिगेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डका अनुसार विधेयकहरू प्राथमिकताका आधारमा संघीय संसद्मा दर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्