Logo
Logo

जनमत सांसद सापकोटालाई हटाउन मिल्दैनः सभामुख


1.9k
Shares

जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन गरेको पत्राचार त्रुटीपूर्ण रहेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ठहर गरेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।

सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रहरू अध्ययन गर्दा सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम गरेका हुन ्।

संसद सचिवालयले जनमत पार्टीलाई पठाएको पत्रमा ‘कारबाही कानुन एवं प्रक्रियागत रूपमा प्रथम दृष्टिमै त्रुटीपूर्ण देखिन आएको’ उल्लेख छ ।

पत्रमा भनिएको छ–‘त्रुटीपूर्ण कार्यलाई अनदेखा गरि निजमाथि गरेको भनिएको कारबाही अगाडि बढाउन सक्ने अवस्था भएन ।’

स्वकीय सचिव राख्ने विषयमा सांसद सापकोटाको पार्टीसँग विवाद भएको थियो । स्वकीय सचिव नियुक्त गर्ने सांसदको अधिकार भएपनि जनमत पार्टीले आफूले भनेको व्यक्ति राख्नुपर्ने भन्दै सापकोटालाई दबाब दिएको थियो । दबाब अस्वीकार गरेकी सापकोटालाई जनमत पार्टीले सांसद पदबाटै हटाउन सभामुखलाई पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस्