
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ पार्टीबाट निस्कासित भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सोमबार साँझ विज्ञप्ति जारी गर्दै संस्थापक नेता रेशमलाल चौधरी निकट रहेका तामाङलाई पार्टीबाट निस्कासन गरिएको जानकारी दिएका हुन् ।
सोमबार काठमाडौंको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम समूहले रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट गरेका थिए । सो कुटपिटमा तामाङको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई पार्टीबाट निस्कासन गरेका हुन् ।
‘चैत १९ गते पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा तपाई (दीपबहादुर योञ्जन तामाङ)समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान अनुसार तपाईलाई आजकै मितिदेखि लागू हुनेगरी पार्टीबाट पदमुक्त गरि निस्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
हाल नाउपामा रेशम र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा तीव्र मतभेद छ । सोही विषयमा श्रीमान-श्रीमतीबीच सहमति हुन नसक्दा नाउपा फुटको संघारमा पुगेको छ ।















