Logo
Logo

ताइवानमा ७.३ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी



काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पबाट ठूला ठूला भवनहरु भत्किएका छन् । तर, मानिसहरु कति हताहती भए भन्ने यकिन विवरण आएको छैन । प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार भूकम्पबाट ठूला बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको समाचारमा उल्लेख छ ।

स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन समेत भनिएको छ । सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।

ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । साथै, फिलिपिन्सको भूकम्प मापन निकायले पनि सूनामीको चेतावी जारी गरेको छ ।
बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प गएको हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ । पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यतातिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।

स्थानीय मिडियाहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । ताइवानका मिडियाहरुका अनुवार भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ । त्यसैले ताइवानका ९१ हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्