
काठमाडौं । पवर्तको जलजलामा गाउँपालिका–२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसीको हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकासराज खनालले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए ।
प्रहरीले उनीहरुको विवरण गोप्य राखेर अनुसन्धान गरिरहेको छ । डीआईजी खनालको टोली मंगलबार नै पोखराबाट घटनास्थल गएको थियो । प्रहरीका अनुसार घटना भएको घर एकान्त ठाउँमा भएकाले वरपरका कसैले पनि केही थाहा नपाएको बताएका छन् ।
त्यस्तै मंगलबार नै अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको थियो । अहिले प्राविधक र म्यानुअल दुवैतर्फबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताए ।
सोमबार राति ९ बजेसम्म जिसी दम्पतीको अवस्था ठीक रहेको देखिएको थियो । ९ बजेसम्म उनीहरुले आफन्तसँग फोनमा कुराकानी गरेको समेत देखिएको छ । तर, भोलिपल्ट मंगलबार बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गरेका थिए । तर, फोन उठेन । जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो ।
छिमेकीहरु गएर हेर्दा दुवै जना लडेको अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर आएको डीएसपी भुसालले बताए । दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । मंगलबार नै शव जाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि म्याग्दी ल्याइएको छ ।














