काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ, परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।’
प्रधानमन्त्री प्रचण्डले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै यसबाट शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए ।

‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘खेल कूटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।’
आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले भने, ‘खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।’
यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग रहने विश्वास दिलाए ।
उनले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीमा आत्मविश्वास बढ्दै गएको भन्दै चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।
पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला र च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मूलपानी रङ्गशाला, भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माण कार्य शीघ्र सम्पन्न गर्न उच्च महत्व दिइएको बताए ।
सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले खेलाडीमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए ।
पछिल्लो समय महिला खेलाडीले देशभित्र र बाहिर कीर्तिमान हासिल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता उपलब्धिबाट देशलाई प्रेरणा मिलेको बताए । उनले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय सङ्घ निक्र्यौल गरेको बताए ।














