Logo
Logo

गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन एउटा मात्रै टेण्डर



चितवन । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि एउटा कम्पनीले मात्र टेण्डर हालेको छ ।

बिहीबार खोलिएको टेण्डरमा एकमात्रै कम्पनीले ठेक्का हालेको पाइएको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । गत फागुन १७ गते ३० दिनको म्याद राखेर१ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको थियो ।

महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार रंगशाला निर्माणका लागि एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेका छन् । अब ठेक्का हाल्ने कम्पनीको प्रस्ताव मूल्यांकन गरी १ हप्ताभित्र महानगरले राखेको मापदण्डअनुसार कार्य अगाडि बढ्ने छ । यदि प्राविधिक प्रस्ताव पास नभएको खण्डमा ठेक्का रद्द गरेर अर्को ठेक्का आह्वान गरिने उनले बताए ।

रंगशाला सम्वन्धी नै कामकाज गरेको र ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ । महानगरले थप १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालेको थियो ।

धुर्मस सुन्तली फाण्डेसनले बनाउन सुरु गरेको रंगशालाको काम बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्णरुपमा रोकिएको थियो । फाउण्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) रिभाइज गरिएको महानगरका उपनिर्देशक अर्यालले बताए । रिभाइज गरिएको डीपीआरमा केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्