Logo
Logo

राजस्व चुहावट नियन्त्रणको काम सुरु भयाे: वर्षमान पुन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् ।

शुक्रवार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसद्सहित संवैधानिक अङ्गहरूका सचिवहरूसँग आगामी आर्थिक वर्ष (आव) को बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रवार आयोजित अन्तरक्रियामा उनले यस्तो जानकारी गराएका हुन् ।

चालु आवको हालसम्मको राजस्व सङ्कलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचक सुधार हुन नसकेको उनको भनाइ छ ।

लक्ष्य महत्त्वाकाङ्क्षी राखिए पनि राजस्व वृद्धि अपेक्षित नभएको उनले बताए । चालु आवको ९ महिनामा हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन हुनु राम्रो नभएको उनले बताए । यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजस्व सङ्कलनमा केही सुधारका संकेत देखिएको उनको दाबी छ ।

राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वबिच समन्वयमा काम अघि बढेको भन्दै मन्त्री पुनले आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व सङ्कलनमा सकारात्मक वृद्धि गर्ने लक्ष्य राखिएको बताए ।

‘चालु आवमा ४१ प्रतिशत राजस्व सङ्कलनको लक्ष्य राखिएकामा म आउँदा ९ प्रतिशत हारा मारीमा मात्र वृद्धि रहेछ,’ पुनले भने, ‘अर्थ र गृहको अन्तर मन्त्रालय समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु गरिसकेका छौँ । अब राजस्व संकलन बढ्छ ।’
मन्त्री पुनले स्रोतको सीमितताभित्र रहेर सत्ता गठबन्धनले संविधानको दायराभित्रै बसेर तय गरेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमअनुसार आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको जानकारी दिए ।

यो वर्षको बजेट कृषि उत्पादन वृद्धि, विगतमा पुँजीगत खर्चको अवस्था उत्साहजनक नहुने गरेको चर्चा गर्दै मन्त्री पुनले विना अध्ययन र तयारी हचुवाका भरमा कार्यान्वयन हुन नसक्ने योजना यो वर्षको बजेटमा समावेश नगरिने मन्त्री पुनले स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्