बारा । पूर्वपश्चिम राजमार्गस्थित बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित अमलेखगञ्ज चोकमा डियुटीमा खटिएका एकजना ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ ।
शुक्रबार राति सवा नौ बजेतिर काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१–००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनलाई चेकिङमा खटिरहेको अवस्थामा बसले ठक्कर दिएको थियो । बारा प्रहरीका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङका अनुसार राति चेकिङमा खटिएको बेला बसले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । उनलाई तुरुन्तै उपचारको लागि वीरगञ्ज लगिएको थियो । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारकै क्रममो मृत्यु भएको हो ।
ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ब्रेक नलागेकाले यादवलाई ठक्कर दिन पुगको चालकले बताएको प्रहरीले जनाएको छ । मृतक यादवको शव पोष्टमार्टको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।














