Logo
Logo

गण्डकीमा मुख्यमन्त्री दावी पेश गर्दै खगराज, दीपक मनाङेको पनि समर्थन


1.2k
Shares

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । नेता अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका छन् ।

संघमा सत्ता समीकरण फेरिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन् । सोहीअनुसार एमालेले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीको आठैजना प्रदेशसभा सदस्यको समर्थनमा नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । गण्डकी प्रदेशमा सभामुख धितालसहित नेकपा माओवादीका आठ सदस्य छन् ।

एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले पनि मुख्यमन्त्रीमा आजै दाबी पेस गर्ने बताए । सभामुखलाई राजीनामा गराएर जाने कि नगराई जाने भन्नेमा आजै छलफल हुने उनले बताए ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि गठबन्धनमा समेट्ने तयारी गरिएको छ । गुरुङले एमाले नेता अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएका छन् । उनको समर्थनले सत्ता गठबन्धनलाई बहुमत पुगेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र (दीपक मनाङ्गे) एक गरी बहुमत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्