Logo
Logo

राजनीतिमा गाली पुराण


104
Shares

आफ्नो आङको भैंसी नदेख्ने र अर्काको आङको जुम्रो देख्ने नेपालीको नानीदेखिको नै बानी हो । हामी नराम्रो कुरा मात्र खोतलिरहेका हुन्छौँ । अनावश्यक र मनगढन्ते टिकाटिप्पणी गरिरहेका हुन्छौँ । अरुको निन्दा गरेर रमाइरहेका हुन्छौँ ।

अरुलाई नराम्रो देखाएर आफू राम्रो बन्न खुब मनपर्छ । कतिपयको त काम नै अरुको गल्ती देखाउनु बनेको छ । अरुले के गल्ती गर्छ, अरुको कमजोरी के छ ? फटाफट भन्छन् । आफ्नो गल्ती–कमजोरीमा चाहिँ मुखट टालिन्छ । वाक्य नै फुट्दैन । किनभने, अरुको गल्ती खोतल्नेहरुले आफैंतिर भने फर्केर हेरेको पाइँदैन । अरुको चियोचर्चा गर्दागर्दै आत्ममूल्याँकन गर्न भुल्छन् ।

सबै व्यक्ति सर्वगुणी हुँदैनन् । गल्ती सबैले गर्छन् । कमजोरी सबैमा हुन्छ । अवगुण सबैसँग हुन्छ । तर, साथसाथै हरेक व्यक्तिका केही न केही राम्रा पक्ष हुन्छ । गुण हुन्छ । क्षमता हुन्छ । तर, त्यो गुण कहिल्यै अरुलाई सुनाउँदैनौँ ।

किनभने, हामीमा कुन्ठा छ । इष्र्या छ । दम्भ छ । राजनीतिमा अझ यो बढी लागू हुन्छ । राजनीतिलाई मुद्दाको आँखाले हेरिँदैन । एजेण्डाको आधारमा सही र गलत निर्धारण हुँदैन । राम्रो र नराम्रो अनुरूप समर्थन र विरोध गरिँदैन । गुण र दोषको तराजुमा जोखिँदैन । चोटिलो, घोचिलो र पेचिलो गाली गरे पुग्छ ।

नेताहरूले बुझ्न जरुरी छ गालीगलौज आफू र आफ्नो पार्टीलाई अब्बल सावित गर्ने माध्यम होइन । अब नेताहरूले गाली छोडेर जनताका मुद्दा उठाउनुपर्छ । गरिब, निमुखा र पिछडिएका तथा अल्पसंख्यकहरुको आवाज उठाउनुपर्छ र सुन्नुपर्छ । अहिलेकै अवस्थामा राजनीतिमा गाली संस्कृति मौलाउँदै गयो भने त्यो राजनीति होइन, लाजनीति बन्छ ।

आफू, आफ्नो पार्टी, समूह र व्यक्ति राम्रो । अरू सबै नराम्रो । आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थले समाजलाई थिलथिलो बनाएको छ । यसले समाजलाई नराम्ररी विभाजित गरेको छ । निर्वाचनताका गालीको मेला नै लाग्छ ।

अहिले इलाम–२ को उपनिर्वाचनले देश निर्वाचनमय भएको छ । दलका कार्यकर्ता गाली गर्ने होडमा छन् । अरुको कम्जोरी कोट्याइकोट्याइ सामाजिक सञ्जालमा पोस्ट्याइरहेका छन् । अरुलाई दानवीकरण र आफूलाई देवत्वकरण गरिरहेका छन् ।

एउटाले विदेशी दलाल भनेको छ । अर्कोले देशप्रेमी भनेको छ । एउटाले परिचालित भनेको छ, अर्कोले स्वाभिमानी देखिरहेको छ । एउटाले राष्ट्रवादी भनेको छ, अर्कोले राष्ट्रघाती मानेको छ । एउटाले खराब भनेको छ, अर्कोले राम्रो मानिरहेको छ ।

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै…’ भन्थे, त्यस्तै भएको छ । एउटाले ठीक देखेको छ, अर्कोले बेठीक भनेको छ । एउटाले असल भनेको छ, अर्कोले फटाहा । एउटाले शिरमा सजाएको छ, अर्कोले पैतालामुनी राखेको छ । एउटाले महान सम्झेको छ, अर्कोले तुच्छ ठानेको छ । एउटाले अग्रगामी देख्छ, अर्कोले पश्चगामी मानेको छ ।

तथ्यहरूलाई आफ्नो निहीत स्वार्थका लागि ‘मोडिफाई’ गर्ने गलत प्रवृत्ति मौलाएको छ । यसले सत्य–तथ्य वा यथार्थ चरित्र पहिचान गर्न सकिँदैन । सत्य–तथ्य पहिचान नगरी समस्यालाई चिन्न सकिँदैन ।

हाम्रो राजनीतिमा सिद्धान्त, विचार, दृष्टिकोण र मूल्यमान्यतालाई विश्वास गर्ने संस्कृति छैन । गालीमाथि चढ्ने बडो मज्जाको भ¥याङ बनिरहेको छ । यहाँ त अरूलाई मरुन्जेल गाली गरेर आफ्नो स्पेस बनाउने प्रचलन व्यापक रहेको छ ।

वास्तवमा यो एक किसिमको मनोविकार हो । हामी यस्ता दुषित मनोविकारले यति ग्रस्त छौ कि, हाम्रो इन्द्रियले पनि ठिकसँग काम गर्न सक्दैन । अरुले राम्रो भनेको, अरुले राम्रो गरेको, न हामीसँग सुन्ने कान छ, न हेर्ने आँखा छ । न त बुझ्ने मन नै छ । हामी अनुभूत पनि गर्दैनौँ ।

हामी मानविय मूल्य र मान्यताबाट पन्छिँदै गएका छौँ । भौतिक सुख–सयलको भोग एवं तृष्णाले हामीलाई व्याकुल बनाएको छ । त्यही कारण हामी मानविय जीवन बाँच्न भुल्दैछाँै । हामी आफैलाई अवगुण र विकारको भण्डार बनाउँदै छाँै, त्यही कारण अरुलाई हामी खराब, नराम्रो, दुर्गुणी, कमजोर देखिरहेका छौँ । यो हाम्रो आफ्नै दृष्टिदोष हो ।

राजनीति गज्जबको छ । आफ्ना पार्टीका सबैले दुधले नुहाएका हुन्छन् । अर्को पार्टीका नेता भ्रष्ट हुन्छन् । खतम हुन्छन् । गएगुज्रेका हुन्छन् । आफूलाई ठूला दल, राम्रो पार्टी र महान् देखाउन अरूको सत्तेसराप गर्नुपर्छ । राजनीतिमा नैतिकता, इमानदारिता, धैर्यता र विश्वास कतै देखिँदैन् ।

राजनीतिमा पक्ष र विपक्ष हुन्छ । एकले अर्काको आलोचना गर्नु स्वाभाविक हो । लोकतन्त्रमा स्वस्थ आलोचना सभ्य मानिन्छ । तर, आलोचना पाच्य र सर्वस्वीकार्य हुनुपर्छ । भाषण गर्ने बहानामा व्यक्तिगत गालीगलौज गर्नु राजनीतिक होइन । राजनीति भनेको देशको नीति र नियम बनाउने समाजिक थलो हो । तर, अहिले राजनीतिमै नीति हराएको छ ।

चुनावमा मतदाताको मन जित्ने सबै नेताको ध्येय हुन्छ । तर, सभ्य बोलेर जनताको मन जित्नुको सट्टा अर्को दलमाथि सकेजति हिलो छ्याप्न थालिएको छ । गालीको स्तर यति गिरिसक्यो कि, अब त नेताहरू स्वयंलाई यो पच्न छाडिसकेको छ ।

चुनावको समयमा आफ्नो नीति, योजना र कार्यक्रम जनतामा लैजाने हो, गालीको पुलिन्दा होइन । देश बनाउने या बिगार्ने जिम्मा राजनीतिकै हो । राजनीतिको अगुवाइ गर्ने नेता हो । नेता जनताका आइकन हुन् । त्यसैले उसको आचरण र व्यवहार विशिष्ट र मर्यादित हुनुपर्छ ।

निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यास भइरहेको छ । लोकतन्त्रको अभ्यास गरिरहँदा नेतृत्व वर्गमा संस्कारको अभाव देखिएको छ । नेतृत्वको चरित्र र व्यवहार लोकतान्त्रिक हुन सकेको छैन । सभ्यता र संस्कार बिनाको उपलब्धीले लोेकतन्त्रको महत्व रहँदैन ।

गाली, आरोप र अपमानको संस्कार प्रकट गर्ने नेता वा राजनीतिक दलबाट समाज परिवर्तनको अपेक्षा गर्न सकिँदैन । संस्कार विनाको नेताले समाजलाई कसरी सभ्य बनाउँछ भन्ने प्रश्न उठ्न थालेको छ । र, नेपाली राजनीतिक दलका शीर्ष नेताहरुको असभ्य र भद्दा अभिव्यक्तिकै कारण पछिल्लो समय युवापुस्ता राजनीतिलाई घृणा गर्न थालेका छन् ।

नेताहरुले बुझ्न जरुरी छ कि गालीगलौज आफू र आफ्नो पार्टीलाई अब्बल सावित गर्ने माध्यम राजनीति होइन । अब नेताहरूले गाली छोडेर जनताका मुद्दा उठाउनुपर्छ । गरिब, निमुखा र पिछडिएका तथा अल्पसंख्यकहरुको आवाज उठाउनुपर्छ र सुन्नुपर्छ । अहिलेकै अवस्थामा राजनीतिमा गाली संस्कृति मौलाउँदै गयो भने त्यो राजनीति होइन, लाजनीति बन्छ ।

प्रतिक्रिया दिनुहोस्