Logo
Logo

बार अध्यक्षको आकस्मिक अभियान र उत्तेजक भाषण, न्यायपालिकामा फेरी हुँडलो मच्चिने संकेत  


567
Shares

काठमाडौं । गत शनिबार पोखरामा आयोजित बार भेलामा नेपाल बारएशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठमाथि फ्युडल (सामान्ति) को आरोप लगाए । श्रेष्ठमाथि खनिएका घिमिरेले आराेप मात्र होइन, न्यायपालिका पुनर्संरचना गरिने उद्घोष समेत गरे । 

न्यायालयमा राजनीतिकरण बढ्नुको मुख्य कारण मध्ये संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई सदस्यको रुपमा राख्नु नै एक प्रमुख कारण रहेको ठोकुवा घिमिरेको छ । भेलामा बार अध्यक्ष घिमिरेले दिएको उत्तेजक भाषणले यतिबेला न्यायपालिका तरंगित बनेको छ ।

बारले आकस्मिक रुपमा सुरु गरेको न्यायपालिका पुनर्संरचना अभियानले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको आन्दोलन र महाभियोगपछि मत्थर बनेको न्यायपालिकामा पुनः द्वन्द्व हुने संकेत देखिएको छ । 

न्यायपालिकाको पुनर्संरचना पोखराबाटै सुरु गर्ने भन्दै घिमिरे घिमिरे वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, यदुनाथ खनाल, डा.चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, कृष्णबहादुर थापा, नेपाल बारका उपाध्यक्ष वीरेन्द्र केसी, महासचिव अन्जीता खनालसहितको दलबल लिएर त्यहाँ पुगेका थिए । 

बार भेलामा न्यायपालिका नेतृत्तमाथि घिमिरेको आक्रोश थियो, ‘न्यायपालकाको नेतृत्व कानुनव्यवसायीको स्वतन्त्रता चाहँदैन, त्यसको पाउमा लगेर हाम्रो अस्तित्व सेलाइदेओस् भन्ने चाहन्छ । अहिलेको न्यायपालिकाको नेतृत्व फ्युडल (सामन्ति) छ । आस गर्न सकिँदैन ।’ 

घिमिरेले यस्तो आरोप लगाइरहँदा गण्डकी प्रदेश मुख्य महान्यायाधिवक्ता चिरञ्जीवी शर्मा, उच्च बार र कास्की बारका अध्यक्षसहितका पदाधिकारी पनि मञ्चमै थिए । बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठलाई आर्थिक प्रलोभनसँग जोडेर समेत मुछेका छन् । 

‘नेतृत्वलाई राम्रो कार चाहिन्छ, अनुगमनमा जाँदा भत्ता खाने गर्नुपर्छ । रेड कार्पेट विच्छ्याएर सेलुट खानुपर्छ । पुलिसको अधिकारी हो कि न्यायालयको अधिकारी हो, थाहा छैन । न्यायालयको प्रमुखलाई के को रेड कार्पेट भन्या । पुलिसले जस्तो सेलुट खाएर हिंडेको छ । लाजको मर्नु,’ उक्त भेलामा उनले भनेका थिए,’ ‘यदि शासन गर्नका लागि न्यायालयमा आएको भए शासन गर्न दिइने छैन । पहिला हामी न्यायिक सुधार भन्थ्यौँ । सुधारबाट त सम्भव नै रहेनछ । त्यही भएर हामीले पुनर्संरचना भनेका हौँ । कस्तो पुनर्संरचना भने न्यायाधीशको जरो नै खोतल्नुपर्ने जरुरी छ ।’ 

अहिलेको न्यायपरिषद न्यायाधीश नभएर प्रधानन्यायाधीश मात्र नियुक्त गर्न उद्धत भएको आरोप पनि घिमिरेले लगाए । पोखरा बार भेलाले अब न्यायपालिकामा सुधार होइन, पुनर्संरचना नै जरुरी रहेको ठहर समेत गरेको छ ।

न्यायपालिका पुनर्संरचनाको खाका तय गर्न भन्दै सर्वोच्च अदालत बारका पूर्व अध्यक्ष संविधानविद् पूर्णमान शाक्यको नेतृत्वमा संविधान र कानुनका विज्ञ संलग्न एउटा कमिटी नै गठन गरिएको छ । शाक्य समिति यतिबेला पुनर्संरचना अभियान अन्तर्गत सुझाव संकलन गर्न गण्डकी सहितका सातै प्रदेशमा देश दौडाहामा छ । शुरुवात पोखराबाट गरिएको बारले जनाएको छ । 

बारले आफ्ना विरुद्ध अभियान चलाएपछि भद्र स्वभावका प्रधानन्यायाधीश श्रेष्ठ बारसँग रिसाएको सर्वोच्च स्रोतले जनाएको छ । यस विषयमा श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीशसँग छलफल समेत गरेका थिए ।

बारको क्रियाकलापमाथि सूक्ष्म दृष्टि राखे पनि प्रधानन्यायाधीशबाट धारणा आउन भने बाँकी छ । सर्वोच्च स्रोतले बार अध्यक्षलाई उपयुक्त जवाफ दिने समयको प्रतीक्षामा प्रधानन्यायाधीश श्रेष्ठ रहेको बताएको छ । बारको आकस्मिक अभियानले सर्वोच्च अदालत सशङ्कित बनेको छ । 

प्रतिक्रिया दिनुहोस्