Logo
Logo

विश्वकप खेल्दा लगाउने नेपालको नयाँ जर्सी सार्वजनिक



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी- २० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको हो।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

मन्त्री श्रेष्ठले विश्वकप खेल्न नेपालको जर्सी सार्वजनिक गर्न पाउँदा खुसीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटले गर्दा समग्र खेलकुदमा नै उत्साह बढेको बताए ।

राखेपका सदस्यसचिव घिसिङले एकै वर्ष नेपालको दुई टोली (नेपालको यु–१९ पुरुष टोलीको विश्वकपमा सहभागिता)ले विश्वकप खेल्नु गौरवपूर्ण अवस्था रहेको उल्लेख गर्दै नेपाली टोलीको सुन्दर जर्सीसँगै प्रदर्शन पनि सुन्दर हुने आशा व्यक्त गरे।

नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । क्यानका सचिव पारस खड्काको नेतृत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक टवान्टी–२० विश्वकप खेलेको थियो । सोमबार जर्सी सार्वजनिकमा क्यानका सचिव पारस खड्काले फरक भुमिकामा रहेर विश्वकपको जर्सी सार्वजनिक गर्ने अवसरमा साक्षी हुनु पाउनु गौरवको क्षण रहेको बताए ।

उक्त विश्वकप खेल्ने जर्सी खेलकुद पोशाक कम्पनी केल्मी नेपालले निर्माण गरेको हो । निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ । सबैभन्दा तल गैंडा र सगरमाथा छ । बीचमा नेपाल लेखिएको छ। छातीको एक भागमा क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ ।

टी २० विश्वकप प्रतियोगितामा आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुनेछ। विश्वकप नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्