
काठमाडौं । प्रमुख प्रतिपक्षी र सत्ता पक्षका सांसदले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसद सुशीला थिङले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई बोल्न दिएका थिए । तर, सभामुखले झालाई बोल्न दिएपछि कांग्रेस सांसदहरूले अवरोध गरे ।
त्यसपछि सत्तापक्षका सांसदहरू पनि आसनबाट उभिएर बैठक अवरुद्ध गरेका हुन् । सभामुख देवराज घिमिरेले विधायिकी काममा ढिलाइ भएको, सांसदहरूलाई बोल्न नियमावली अनुसार समय दिएको, संसद् बैठक सञ्चालनको वातावरण बनाउन र सांसद झालाई बोल्न दिन आग्रह गरेका थिए । सभामुखले पटकपटक आग्रह गर्दा पनि कांग्रेस सांसदहरुले अटेर गरेपछि बैठक स्थगित गरिएको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै कांग्रेसले छानविन समिति गठन नहुँदासम्म सदन चल्न नदिने निर्णय गरेको छ ।














