Logo
Logo

कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकता हुने छः अर्थमन्त्री पुन



काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी)का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले सो कुरा बताएका हुन् ।

आर्थिक रूपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको उनको भनाइ थियो । गत वर्षभन्दा चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरू भइरहेको भन्दै उनले चार प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे ।

आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको बताए ।

मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको उनको भनाइ थियो । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजनासम्बद्ध मन्त्रालयहरूसँग निरन्तर संवाद र परामर्श गरिरहेको अर्थमन्त्री पुनले बताए ।

नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको भन्दै मन्त्री पुनको भनाइ छ । १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी एक लाख किलोमिटर सडक निर्माण भएको तथ्यांक प्रस्तुत गरे ।

पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए । ती सडकहरूको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे ।

महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै, उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्