Logo
Logo

बीमा प्राधिकरण र मधेशका अर्थमन्त्रीबीच छलफल



काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल गरेको छ ।

त्यस अवसरमा मधेश प्रदेशमा बीमाको आवश्यकता, बीमा बजारको विद्यमान अवस्था, देखिएका चुनौती, बीमा क्षेत्रको विकास र पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा छलफल भएको थियो । मधेश प्रदेशका अर्थमन्त्री यादवले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि आवश्यक व्यवस्था गरिने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मधेश प्रदेशमा बीमाको पहुँच न्यून रहेको उल्लेख गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा बीमालाई समावेश गरी बीमा क्षेत्रको विकास र एवम् विस्तारलाई प्राथमिकता दिन आग्रह गरे ।

त्यस अवसरमा मधेश प्रदेश सचिव सुवास चन्द्र शिवाकोटी, नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल, प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्