
काठमाडौं । काठमाडौंको वायु प्रदूषण स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म नेपालको राजधानी काठमाडौ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । जहाँ काठमाडौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २ सय ४७ पुगेको छ ।
त्यस्तै पाकिस्तानको लाहोरको २ सय ७ र भारतको नयाँदिल्लीको २ सय ३ एक्युआई छ । एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।
सुख्खायाम शुरु भएसँगै जङ्गल लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाडौको धुलाम्मे सडक, फोहोर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ । वायु प्रदूषणले विभिन्न रोग नाक, मुख, घाँटी, आँखा, श्वासप्रश्वास नली र फोक्सोको जोखिम बढाएसँगै अस्पतालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् ।
वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा मानव शरीरको हरेक अङ्गमा असर गर्ने डाक्टरहरु बताउँछन् । यसबाट जोगिन आवश्यक नपरी घर बाहिर नजाने, जानै परे मास्क, चस्मा लगाउने, पूरा शरिर ढाक्ने कपडा लगाउने, सरसफाईमा ध्यान दिने लगायतका सुझाव वरिष्ठ छातीरोग विशेषज्ञ डा.नवीन प्रकाश शाहले दिएका छन् । योसँगै वायु प्रदुषणले छाला, मुटु, मष्तिस्कमा पनि असर गर्ने हुनाले स्वास्थ्य सावधानी अपनाउनु पर्ने डाक्टरहरुको सुझाव छ ।















