Logo
Logo

लगानी सम्मेलनः कागलाई बेल पाक्यो हर्ष न विष्मात


189
Shares

देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको छ । रेमिट्यान्सले अर्थतन्त्र धानेको छ । भएका उद्योगधन्दा बन्द भएका छन् । सिमेन्ट, छड उद्योगको बेहाल छ । उद्योगीहरुले बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था छ । जसले गर्दा बैंकको आम्दानीमा असर परेको छ । बैंकमा लगानी थुप्रिदासमेत लगानीका लागि व्यवसायीहरु बैंक धाउन छाडेका छन् । भएका डेरी उद्योगहरु पनि डुब्ने अवस्थामा पुगेका छन् । भान्छाको हरेक कुरा आयातले धानेको छ । यस्तो अवस्थामा आत्मनिर्भर अर्थतन्त्र जरुरी छ ।

आफैँले उत्पादन गर्न सकिने तरकारी, फलफूल, माछा मासुलगायत दैनिक उपभोग्य सामान आयातमा भर पर्नुपरेको छ । साना तथा मझौला उद्योगीहरु निराश छन् । गाउँमा खेती किसानी गरेर जीवन धान्नेहरु लघुवित्तको मारमा परेका छन् । हरेक क्षेत्र समस्याले जकडिएको छ । यस्तो अवस्थामा सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ ।


नेपालमा विदेशी लगानी भित्र्याएर पूर्वाधार विकास गर्ने योजनासहित सरकारले यसअघि दुइवटा लगानी सम्मेलन गरिसकेको छ । सन् २०१७ मा आयोजित पहिलो सम्मेलनमा करिब १४ खर्बमा चीनले मात्र ८ खर्ब लगानीको प्रतिबद्धता जनाएको थियो र २०१९ मा आयोजित दोस्रो सम्मेलनमा करिब ३२ खर्बको प्रतिबद्धता आएको थियो । त्यसमा पनि भारत, चीन र बंगलादेशले ठूलो प्रतिबद्धता जनाएको थियो । तर, त्यसअनुसार लगानी भने भित्रिन सकेन ।

दोस्रो सम्मेलनको करिब ५ वर्षपछि तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा करिब १३२ परियोजना अघि सार्ने तयारी छ । लगानी सम्मेलनका लागि प्रत्यक्ष लगानीका उपयुक्त परियोजनाको सूची तयार हुँदैछ । ठूला परियोजनासँगै साना मझौला आयोजना, नवप्रवर्तत आयोजना, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय तथा बहुर्राष्ट्रिय दातृ निकाय, विकास साझेदारहरूसँग सम्बन्ध सुमधुर पार्नुपर्ने छ । त्यसमाथि लगानीमैत्री ऐन, कानुन बनाउन आवश्यक छ । राजनीतिक र कर्मचारीको भ्रष्ट मनोवृत्तिले लगानीकर्ता निरुत्साहित बनेका छन् । नेपाली उद्योगीहरु तनावमा छन् । उनीहरुलाई प्रोत्साहन गर्ने नीति छैन ।


यस्तो अवस्थामा सम्मेलनका लागि सरकारी, निजी, सार्वजनिक निजी साझेदारीसँगै स्थानीय निकायअन्तर्गत रहेका १३२ आयोजनालाई समावेश गरिएको छ । तीमध्ये ३२ भन्दा बढी जलविद्युत् आयोजनाहरू सोकेस गर्ने तयारी छ । यसका साथै अबधारणा विकास भएका ३७ वटा आयोजनाहरूको सूची पनि तयार पारिएको छ ।

यी आयोजनाहरुमध्ये नेपाली लगानीकर्ताले कुन–कुन आयोजनामा लगानी गर्न सक्छन् भन्ने विषयमा गम्भीर छलफल हुनु जरुरी छ । लगानी भित्र्याउने काममा नेपाली व्यवसायीहरुलाई प्रोत्साहित गर्न सकियो भने कार्यान्वयन पनि सम्भव हुन्छ । त्यसो भएन भने लगानी सम्मेलनमा प्रतिबद्धता जनाउने मात्र काम हुन जान्छ ।


विगतमा भएका लगानी सम्मेलन किन विफल भयो भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । लगानी सम्मेलनमा आउने, ठूला ठूला गफ गर्ने तर लगानी नगर्नुका पछाडिका कारण पनि सरकारले केलाउनुपर्छ । पछिल्लो पटक बैंकमा लगानीयोग्य खर्बौं रुपैयाँ थुप्रिएर बसेको छ । उक्त रकम लिने र नयाँ उद्योग सञ्चालन गर्नेबारे नेपाली लगानीकर्ताहरु किन हच्किएका छन् त्यसको पनि कारण खोज्नुपर्छ । नेपालीले लगानी गरे भने त्यसको नाफा नेपालमै रहन्छ । विदेशीले लगानी ग¥यो भने त्यसको नाफा विदेशमा जान्छ । कुनै पनि विदेशीले मुनाफा नहुने क्षेत्रमा लगानी गर्दैन ।

लगानीका लागि सबैभन्दा प्रमुख कुरा राजनीतिक स्थायित्व र सुरक्षा हो । नेपालमा राजनीतिक स्थिरताको अवस्था छैन । वर्षैपिच्छे प्रधानमन्त्री, मन्त्रीहरु फेरिन्छन् । प्रदेशको अवस्था त्यस्तै छ । जसका कारण लगानीकर्ताहरु हच्किने गरेका छन् । धेरै टाढा जानु पर्दैन, छिमेकी चीनले उत्पादन गरेको विद्युत् भारतले नकिन्ने भन्नासाथ चिनियाँ कम्पनीहरु फिर्ता गए । नेपालले बिआरआइको कार्यान्वयन नगरेसम्म चिनियाँ लगानीकर्ताले नेपाललाई विश्वास गर्ने छैन । चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपाल भ्रमण गर्दा ५६ अर्ब रुपैयाँ सहयोग गर्ने वचनबद्धता जनाएका थिए । त्यसको सदुपयोग पनि नेपालले गर्न सकेन ।


विदेशी लगानी भित्र्याउने कानुनी संरचना लगानीमैत्री नहुँदा सोचेअनुरूप काम हुन सकेको छैन । त्यसपछाडिका कारण पत्ता लगाएर आगामी रणनीति तय गर्नुपर्छ । लगानीका लागि विद्यमान जटिलता फुकाएर खुला हृदयले लगानीकर्तालाई स्वागत गर्नुपर्छ । कर्मकाण्डी हिसाबले मात्र सम्मेलन आयोजना गर्ने, ठूलो प्रतिबद्धता जनाउने तर, कार्यान्वयन नहुने विगतको अभ्यास अब अन्त्य हुनुपर्छ ।

सरकारी संयन्त्र, भएका नीति, कार्यशैली, सुशासनको अवस्था र लगानीकर्तालाई विश्वास दिलाउने वातावरण तयार गर्नुपर्छ । भारत र चीन हाम्रो अर्थतन्त्रको मुख्य बजार हो । त्यो बजारलाई लक्षित गरेर लगानी भित्र्याउन सके मात्र पनि नेपालको अर्थतन्त्र दक्षिण एसियामै सवल हुनेछ । तर दुर्भाग्य, राजनीतिक अस्थिरता, सरकारप्रतिको अविश्वास र भ्रष्टाचार, कमिशनतन्त्रका कारण लगानीकर्ताहरुले चासो देखाएका छैनन् । त्यसैले अहिलेको लगानी सम्मेलन नेपाली उद्यमीका लागि ‘कौवालाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्