Logo
Logo

बिमालेख जारी भएकै स्थानमा दाबी फर्छ्यौट हुनुपर्छ: सूर्यप्रसाद सिलवाल



धनुषा । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमालाई बढी विश्वासिलो बनाउनका लागि बिमा लेख जारी भएकै स्थानबाट दाबी फर्छ्यौटको व्यवस्था गर्नु आवश्यक भएको बताएका छन् ।

नेपाल बिमा प्राधिकरणको आयोजनामा धनुषाको जनकपुरधाममा बुधवार बिमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुख र कर्मचारी तथा बिमा अभिकर्ताहरूसँग बिमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया बोल्दै सिलवालले यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले भने, ‘आर्थिक सहायताबाट समस्या समाधान नभई क्षणिक खुसी प्राप्त हुन्छ, बिमाबाट मात्र समग्र समस्याको समाधान हुन्छ, गरिबी निवारणमा सहयोग पुग्छ, दैनिक दुई कप चिया कम गरेर त्यसबाट बचत हुने रकमले बिमा गरेमा भविष्य सुनिश्चित हुन्छ, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।’

सरकारबाट बिमा नियमावली स्वीकृत भएपछि नेपाल बिमा प्राधिकरण बिमा क्षेत्रको समग्र विकासका लागि अझै सशक्त रूपमा अगाडि बढ्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले पुर्नबिमा बापतको रकम प्राप्त नभए पनि त्यसलाई आम्दानी मानेर बिमा कम्पनीहरूले मुनाफा खान नपाउने बताए ।

अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणबाट जारी निर्देशनहरू बिमा कम्पनीहरूले पालना गर्नुपर्छ, प्रदेश कार्यालयहरूलाई अधिकार सम्पन्न बनाउनुपर्छ, कम्पनीहरूले इनोभेसनमा लगानी गर्नुपर्छ, कम्पनीहरू कानुन बाहिर गएमा प्राधिकरणले हस्तक्षेप गर्छ ।’

जनकपुर उपमहानगरपालिकाका वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्णले बिमाको पहुँच न्यून रहेको मधेस प्रदेशमा बिमाको विकास एवम् विस्तारका लागि नेपाल बिमा प्राधिकरणका अध्यक्षले लिनुभएको अग्रसरता सराहनीय रहेको बताए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बिमा क्षेत्रको विद्यमान अवस्था, निरीक्षण प्रतिवेदन, जोखिमांकन, संस्थागत सुशासन, सूचना प्रविधि, प्रदेश कार्यालयको भूमिका लगायतका विषयमा प्रस्तुति गर्नुका साथै कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले प्रदेश, शाखा तथा उपशाखा कार्यालयका गुनासाहरूको सुनुवाइ नभएको, अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक नपाएको, तालिम नदिएको, प्रदेश कार्यालयहरूमा कामको प्रकृति अनुसार शाखागत व्यवस्था नगरिएको, प्रमुख कार्यकारी अधिकृतको निकटका बाहेक अन्य कर्मचारीहरूको नौ दश वर्षसम्म पनि पदोन्नति नभएको गुनासो गरेका थिए ।

यस्तै कर्मचारीले छोडेर जाँदा पाउनुपर्ने रकम समयमै नपाएको, केही जीवन बिमा कम्पनीले ल्याएको वार्षिक बिमा फिर्ता योजनाबाट चार पाँच वर्षमा सरेण्डरमा गएमा ऋणात्मक हुने अवस्था रहेको, वैदेशिक म्यादि जीवन बिमामा देखिएको समस्याको समाधानका लागि वेटिंग पिरियड १८० दिनबाट कम गरी ९० दिन कायम गर्नुपर्ने देखिएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा मधेस प्रदेशका धनुषा, सप्तरी, सिरहा, महोत्तरी र सर्लाही जिल्लास्थित बिमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुख र कर्मचारी तथा बिमा अभिकर्ताहरू लगायत २ सय जनाभन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्