काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औं अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले मन्त्रिपरिषद्बाट पारित गर्दै मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई सदनमा दर्ता गराउन लागिएको बताएकी हुन् ।

उनले उक्त विधेयकलाई छिटो भन्दा छिटो सदनबाट पारित गर्न सके अहिले विकास भएका सवै प्रकारका सञ्चारमाध्यमहरुलाई नियमन र प्रोत्साहन गर्न सहज हुने धारणा राखे । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरि प्रसारण ऐनलाई पनि समितिबाट पारित गरि संसदमा लैजाने तयारी भइरहेको उनले बताइन् ।
मन्त्री शर्माले पत्रकारहरुलाई सहज बनाउने गरि मन्त्रालयले बिभिन्न निर्णय गरेको र आवश्यक अन्य ऐन कानूनहरु निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिइन् । मुलुकका आएका परिवर्तनलाई संस्थागत गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रतालाई स्थापीत गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
उनले समाचारहरु सत्य र तथ्यमा आधारित भएर सरकार र जनताको पुलको रुपमा काम गर्न सक्नुपर्ने बताइन् । कार्यक्रममा केही सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।














