Logo
Logo

रास्वपाका मिलन लिम्बू चुनावी प्रचारमा सक्रिय


315
Shares

इलाम । वैशाख १५ मा इलाम–२ को उपनिर्वाचनमा राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा होमिएका छन् । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बू पनि चुनावी प्रचार–प्रसार तथा घरदैलोमा होमिएका छन् । 

लिम्बु अहिलेसम्म देउमाईको शान्ति डाँडा, मङ्गलवारे, फाकफोकथुमको धुर्विसे पञ्चमी, फलाटे बजार, खाम्वाङ, ठिङ्गेपुर (हावा चोक), आमचोक, शंकरचोक र इलामको सटके बजार, सोयाक सिद्धिथुम्का लगायतका ठाउँमा घरदैलो गरी सकेका छन् । आज बिहीबार उनी चुलाचुलीको १, २, ३ नम्बर वडामा घरदैलो गर्ने कार्यक्रम रहेको रास्वपाका सह–संयोजक सन्तोष श्रेष्ठले बताए । 

चुलाचुली १ नम्बर वडाको आवुचोक राईटोल, मिलडाँडा, कमतटोल, राधाकृष्ण टोल फाल्गुनन्द टोल तथा वडा नम्बर २ को तिनकुने, स्वामीचोक, अर्नाखाडी, खत्री चोक, निगुरे र वडा नम्बर ३ को मंगलासिद्धी, निर्जल चोकका मतदातासँग घरदैलो गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । 

पुराना राजनीतिक दलहरुसँग वाक्क भएका अधिकांश मतदाताहरू यसपालि रास्वपाका उम्मेदवारलाई आफ्नै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा भेटेपछि निकै उत्साहित भएका छन् । सयौँको संख्यामा विभिन्न टोलमा उपस्थित भई रहेका मतदाताहरूले यस पटकको निर्वाचनमा आफूहरूले घण्टीलाई नै भोट हाल्ने बताएका छन् ।

चुनावी प्रचार–प्रसारका लागि रास्वपाले सह–महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई इलाम निर्वाचन क्षेत्रको कमान्डर तोकेको छ । उनले यो निर्वाचनमा नयाँ र पुराना राजनीतिक दलहरूको परीक्षण हुने बताए । उनले भने, ‘पुराना राजनीतिक दलहरूको अकर्मण्यताबाट देश भरीका नागरिकमा निराशा र आक्रोश थपिएको छ । र, इलामका नागरिकको मनोविज्ञान पनि त्यो भन्दा भिन्न छैन । त्यसैले यस पटकको उपनिर्वाचनमा रास्वपाले आफ्नो झन्डा फहराउने निश्चित छ ।’ 

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको २७ भदौमा हृदयाघातका कारण निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । आगामी वैशाख १५ मा हुने निर्वाचनमा एमालेले सहानुभूतिको भोट बटुल्नका लागि नेम्बाङका छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको छ । सुहाङलाई सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले समर्थन जनाएको छ ।  

तर, यस पटकको निर्वाचनमा रास्वपालाई प्रमुख प्रतिद्धन्द्धीका रुपमा हेरिरहेको एमालेले मतदाताबाट सहानुभूतिको भोट कति पाउँछ भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्