Logo
Logo

वंशवाद धान्न र तोड्न दुई युवाको भिडन्त



इलाम– २ को उपनिर्वाचनले देश निर्वाचनमय भएको छ । इलाम–२ सँगै बझाङ– १ को (क) मा पनि उपनिर्वाचन हुँदैछ । तर, चर्चा र चासो इलामकै छ ।

इलाममा दुई युवा उम्मेदवारको चर्चा चुलिएको छ । सुहाङ नेम्वाङ र मिलन लिम्बू । दुवै लिम्बू समुदायको युवा हुन् । दुवैको पुख्र्यौली थलो सोही निर्वाचन क्षेत्रमा पर्छ । दुवैको राजनीतिक स्कुलिङ कम्युनिस्ट हो । तर, एकजना वंश धान्न मैदानमा छन्, अर्को वंशवाद तोड्न ।

सुहाङ एमाले नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । सुहाङलाई बुबाको वंश धान्नु छ । तीन दशकको विरासत जोगाउनु छ । मिलनलाई भने वंशवादमा ‘ब्रेक’ लगाउनु छ । जनयुद्धमा समेत होमिएका उनी कागजीरुपमा वंशवाद ढाल्न सफल भए । तर, उनलाई व्यवाहारिक रूपमै वंशवाद ढाल्नु छ । त्यसैले उनी मैदानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू पूर्वमाओवादी हुन् । माओवादीहरू वंशवाद र परिवारवादमा फसेकै कारण उनले सो पार्टी त्यागे । र, स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । पछि, रास्वपाले उनलाई आफ्नो उम्मेदवारी बनायो ।

वंशवाद लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासमाथिकै ठट्टा हो । यसले राजनीतिलाई सेवा होइन विरासतको निरन्तरता हो भन्ने मान्यता स्थापित गराउँछ । राजनीति सेवाको क्षेत्र हो । इज्जत, पैसा र व्यक्तिगत शक्ति आर्जन गर्न राजनीतिमा पारिवारिक उत्तराधिकार लाद्नु लोकतन्त्रकैक भद्दा मजाक हो ।

इलामको ग्रामीण पृष्ठभूमिमा हुर्किए उनी सानैदेखि राजनीतिमा लागेका लागेका थिए । समाज रूपान्तरणको चेतनासहित उदाउँदै गरेको माओवादीको विचारधारा बोके । उच्च माध्यमिक शिक्षा गाउँमा उपलब्ध नभएपछि गाउँ छाडे । तर, उनी गाउँ र गाउँलेसँग कहिल्यै टाढिएनन् । जनता जगाउन पत्रकारितालाई पेशा बनाए । विकृति र विसंगतिविरुद्ध कलमलाई तिखो पारे ।

सुहाङ भर्खरै मात्र राजनीतिमा प्रवेश गरेका हुन् । काठमाडौँकै निजी विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका उनी अस्ट्रेलिया गएर पढे । अहिले उनै सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ । सुहाङको उम्मेदवारीलाई लिएर एमालेभित्रैबाट फेरि वंशवाद बहसमा आएको छ ।

वंश राजनीति पुरानो प्रवृत्ति हो । राजतन्त्रात्मक व्यवस्थासम्म वंशवाद थियो । राजतन्त्र ढल्यो । ढल्न सकेन वंशवाद । लोकतन्त्रमा वंशवादलाई निकृष्टतम कोटीको आरक्षण मानिन्छ । यसलाई श्रीपेच विहीन राजतन्त्र व्यवस्था भन्ने गरिन्छ ।

अहिले देशमा लोकतन्त्र छ । लोकतन्त्रलाई सबैभन्दा उत्कृष्ट राजनीतिक व्यवस्था मानिन्छ । लोकतन्त्र आएको १७ वर्ष भयो तर अझै राजतन्त्रको धङ्धङ्गी छ । राजतन्त्रमा जस्तै वंशवाद, धनवाद र कृपावाद हाबी भएको छ ।

वंशवादमा एउटै वंशबाट एकपछि अर्को शासक बन्दछन् । नेपाली राजनीतिमा पनि यही वंशवादले पकड जमाएको छ । राजतन्त्रमा राजाको छोरा राजगद्दीमा बसेझैँ झझल्को दिने गरी आफूलाई लोकतन्त्रको हिमायती ठान्नेहरू पनि वंशवादमा फसेका छन् । मानौं लोकतान्त्रिक संविधानको आशय नै यही हो ।

वंशमा जन्मिएकै आधारमा राजनीतिक कार्यकारी पदमा पुग्ने क्रम रोकिएको छैन । अहिले सुहाङले पनि त्यही बाटो समाएका छन् । झन्डै तीन दशक राज गरेको सुवास नेम्वाङको निधनपछि उनकै छोरा सुहाङलाई एमालेले उत्तराधिकारी बनाएको छ । ३० वर्ष सुवासको झोला बोक्ने एमालेका पुराना नेता, कार्यकर्ताहरू अहिले उनका छोरा सुहाङको झोला बोक्न बाध्य छन् ।

गणतन्त्रपछि शाहहरूको वंश परम्परागत शासनबाट मुक्ति पाएका जनताले अहिले नेताको वंशवाद झेलिरहेका छन् । वंश परम्परा विकसित र झ्याङ्गिँदा लामो राजनीतिक सङ्घर्ष गरेका कार्यकर्ताहरू पार्टीमा लागिरहने छोड्ने भन्दै जीवन मरणको दोसाँधमा छन् ।

आफूलाई कम्युनिष्ट पार्टी दाबी गर्ने एमालेले राजतन्त्र फालेकोमा गर्व गर्छ । तर, संस्कार चाहिँ पूरै राजतन्त्रकै अङ्गालेको छ । मदन–विद्यादेवी भण्डारीदेखि सुवास–सुहाङसम्मको घटना यही प्रस्ट्याउँछ ।

नेताको परिवारका सदस्यलाई ल्याएर जबरजस्ती नेता बनाउन खोज्नु कम्युनिस्ट राजनीतिमा झनै नसुहाउने कुरा हो । सुवास नेम्वाङ हुँदासम्म सधैँ छायाँमा परेका इलामेली एमालेका नेताहरूलाई फेरि सुहाङले पनि ‘झोला बोकाउनु’ यो ठूलो अपमान हो ।

टिकट पाउन पार्टीमा कुनै योगदान चाहिँदैन । जनतामाझ भिज्नु पर्दैन । योग्यता क्षमता पनि चाहिँदैन । बुबा नेता भए पुग्ने । जसले गर्दा योग्य पात्र राजनीतिक दृश्यबाटै पलायन हुँदै गएका छन् । वर्षौंदेखि त्याग गरेका योग्य र इमानदार व्यक्ति पाखा लाग्दै गएका छन् ।

लोकतान्त्रिक व्यवस्थाभित्रै परिवारवादको विकृत प्रवृत्ति मौलाएको छ । पार्टीको नीति, विधि, योग्यता र क्षमताका आधारमा सत्ता र शक्तिको नेतृत्व निर्धारण हुन्छ । परिवारवादकै कारणले धेरैको यात्रा ओरालो लागिसकेको छ । र, पनि नेताले चेतेका छैनन् ।

पार्टी कमिटीले सत्तामा जाने र हटाउने निर्णय गर्छ । त्यहाँ पार्टी पद्धति बलियो छ । त्यही पद्धतिले नेतालाई बलियो बनाउँछ । देशकै मूल नीति राजनीति बलियो भएकै कारण चीन विश्वकै शक्तिशाली राष्ट्रमध्ये एक भएको छ । तब न समुन्नत चीन निर्माण गर्न सम्भव भएको हो ।

नेता परिवारका सदस्य भएकै आधारमा सत्ता र शक्तिको बागडोर सम्हाल्न पाउनु संघीय गणतान्त्रिक मुलुकको मजाक हो । राजनीति सेवाको क्षेत्र हो । इज्जत, पैसा र व्यक्तिगत शक्ति आर्जन गर्न राजनीतिमा पारिवारिक उत्तराधिकार लाद्नु लोकतन्त्रको भद्दा मजाक हो ।

यसका लागि राजनीतिक दल मात्र जिम्मेवार छैनन्, समग्र समाज, मतदाता, सचेत नागरिक, सबै जिम्मेवार देखिन्छन् । नागरिक समाजले आफ्नो क्रियाशीलता इमानदारिता साथ निर्वाह गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो ।

बोकेको कुकुरले मृग मार्दैन भन्ने उखान आफूलाई राजनीतिको पारखी ठान्ने नेताहरुले आफ्ना परिवारजनलाई राजनीतिमा लाग्न प्रेरित गर्नुअघि सोच्नु आवश्यक हुन्छ । जबसम्म हामी नेताको गलत कामलाई खबरदारी गर्दैनौँ, तबसम्म वंशवाद हट्दैन । हट्दैन कालाबजारिया, माफिया, भ्रष्टाचारी सबै प्रकारका अपराधीहरू । लोकतन्त्रको नाममा परिवारलाई विशिष्ट सुविधाभोगी बनाउने परम्परा जनघाती र राष्ट्रघाती छ ।

नेताहरूको व्यवहारले देश, जनता र राजनीतिक इमानदार दलीय कार्यकर्ताको अवमूल्यन भएको छ । सङ्घर्षशील त्यागी, जनसेवी, इमानदार, प्रतिबद्ध, स्वच्छ छवि भएका कार्यकर्ताको टिकटमा पहुँच नभएर ओझेलमा परेका छन् । लोकतान्त्रिक आवरणभित्र देखापरेका अनेकन् खालका राजनीतिक विकृतिले परिवर्तनमाथि प्रश्न चिह्न लाग्न थालेको छ । यस्ता स्वार्थले राजनीति फोहोरको डङ्गुर बन्दै गएको छ । जसलाई सफा गरिएन भने यसले अनेकन् दुष्परिणाम ल्याउने निश्चित छ ।

राजनीतिमा नेताका परिवारको कुनै सदस्य वा अर्को पुस्ता आउनै हुँदैन भन्ने होइन । यसरी निरपेक्ष सोच्नु गलत हो । तर, ऊ कति राजनीति सचेत छ ? उसको गुण, दोष के छ ? कार्यसम्पादन कसरी गर्छ ? पार्टीमा कति योगदान छ भन्ने कुरालाई सही ढंगले मूल्यांकन भने गर्नैपर्छ ।

वंशवाद लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासमाथिकै ठट्टा हो । यसले राजनीतिलाई सेवा होइन विरासतको निरन्तरता हो भन्ने मान्यता स्थापित गराउँछ । त्यसैले हामी अब्राहम लिंकनले भनेझैं ‘जनताले, जनताका लागि र जनताद्वारा गरिने’ शासन पद्धतिलाई नै व्यवहारमा ल्याउन चाहन्छौं भने सत्ता र शक्तिमा परिवारवादको अन्त्य हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्