Logo
Logo

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त



काठमाडौं । खिलराज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तनकारी शक्तिहरु सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु सुझाव दिएका छन् ।

पूर्वअध्यक्ष रेग्मीले नयाँ वर्ष २०८१ सालको आगमनको सुखद् अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘यस अवस्थामा परिवर्तनकारी शक्तिहरुसमेत सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको छ । अब पनि नभए कहिले हुने ? भन्ने प्रश्न गम्भीर बनेर सबैका सामु खडा भएको छ ।’

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘विगत लामो समयदेखि आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनका लागि हामी नेपालीहरू आज पर्यन्त संघर्षरत छौँ । राज्य प्रणालीको स्थायित्व कायम गर्दै जनभावना अनुरूप शासन सञ्चालन गर्न मार्ग निर्देशन गर्ने र देशको समग्र आर्थिक सामाजिक विकासलाई नयाँ उचाइमा पुर्याउन सक्ने संविधान निर्माण गर्ने उद्देश्यले संविधानसभाको निर्वाचन भयो र संविधान निर्माण पनि गरियो । तर दुइ–दुइपटक निर्वाचन भइसक्दा पनि स्थायित्व र समृद्धिको यात्रा धरमराउँदो छ ।’

उनले केन्द्रमा सत्ता समीकरण फेरिरहँदा प्रदेश सरकारहरू तासका घरझैँ ढलिरहेका धारणा व्यक्त गर्दै भनेका छन्, ‘यस अवस्थामा स्थायित्व र समृद्धि कसरी ? ‘के सोचें मैले के हुँदैछ अहिले’ भन्ने जस्तो भएको छ । समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका हुने नै भए ।

यस अवस्थामा परिवर्तनकारी शक्तिहरु समेत सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको छ । अब पनि नभए कहिले हुने ? भन्ने प्रश्न गम्भीर बनेर सबैका सामु खडा भएको छ ।’

‘२०८० साल बितिसक्यो । २०८१ साल नयाँ वर्षको रूपमा अगाडि आउँदैछ । नव वर्षले नेपालीकाबीच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु’ उनले भनेका छन्, ‘देश विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरूमा फेरि पनि नयाँ वर्षको शुभकामना । धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्