Logo

कोरोनाले अर्थतन्त्र जटिल मोडमा


Published On : 4 April, 2020

  • अशोकशरण अधिकारी

काठमाडौं, २२ चैत । विश्वबाट कोरोनाको प्रकोप कहिले अन्त्य होला ? नेपालमा यसले आफ्नो असर कुन हदसम्म पार्ला ? कोही पनि ठोकुवा गर्नसक्ने अवस्थामा छैनन् । महामारीले विश्वका धनी र सम्पन्न मुलुकलाई समेत एकाध हप्तामै हायल कायल बनाइसकेको छ । विश्वको दुई तिहाई जनता र तीन चौथाई अर्थतन्त्रलाई यसले लकडाउनमा सीमित बनाइदिएको छ । हाम्रो अर्थतन्त्रमा पनि यसले कुन हदसम्मको असर पार्नसक्छ भनेर अहिले नै आँकलन गर्नु हतार हुनेछ । हुनत, कोरोना सबैभन्दा पहिले चीनको वुहानमा देखिएसँगै हामीले नै त्यसको प्रभाव पनि व्यहोरेका हौँ ।
हाम्रो पर्यटन व्यवसाय पछिल्लो केही वर्षदेखि चिनियाँ र भारतीय पर्यटकमा बढी भरपर्दै आएको थियो । नेपालले जनवरी पहिलो दिन भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा अघिल्लो दिन वुहानमा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि एकाएक चिनियाँ पर्यटकको आगमनमा कमी आयो र क्रमशः अन्य देशका पर्यटकमा पनि प्रभाव पर्यो । जनवरी महिना नसकिँदै काठमाडौंलगायत सबै पर्यटकीय क्षेत्रका होटल, रेष्टुरेण्ट, ट्रेकि¨, हवाई यातायात ठप्पप्रायः भयो । फेबु्रअरी पछिका पर्यटन क्षेत्रका सबै बुकिङ¨ र कार्यक्रम रद्द भएका छन् ।
सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेदेखि नै पर्यटन क्षेत्रमा नयाँ होटल, रेष्टुरेण्ट निर्माण र बिस्तारको काम पनि शुरु भएको थियो । सोक्षेत्रमा नेपाली बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको अघिल्लो सात महिनामा १ अर्ब ३८ करोड रूपैयाँ भन्दा बढी लगानी गरेका छन् । त्यसैगरी, हवाई क्षेत्रमा १ अर्ब रूपैयाँ भन्दाबढी लगानी गरेका छन् । भ्रमण वर्षलाई लक्षित गरेर निर्माणको अन्तिम चरणमा पुगेका अधिकांश होटललाई कोरोनाले सबैभन्दा बढी असर पार्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले अन्य क्षेत्रमा गरेको लगानी त्यो भन्दाबढी छ । तर, कोरोनाले बिस्तारै मुलुकको सबै क्षेत्रलाई चौपट पार्ने अवस्था देखिइसकेको छ । त्यसमध्ये पर्यटन र हवाई क्षेत्र आन्तरिक अर्थतन्त्र चलायमान भएको अवस्थामा पनि कम्तिमा दुई वर्षपछि मात्र पूरानो लयमा फर्कनसक्ने अनुमान लगाउन सकिन्छ । यस्तो अवस्थामा अर्थमन्त्रीले कोरोनाको असर छोटो समयसम्म रहने भनेर हालै गरेको टिप्पणी र तयारीले बैंकर, व्यवसायी र तिनमा आश्रित कर्मचारीलाई फेरी झस्काएको छ ।
अहिलेको प्रकोपबाट देखा पर्नसक्ने विश्व आर्थिक मन्दीबाट हाम्रो अर्थतन्त्रलाई जोगाउन तत्काल उच्च गृहकार्य आवश्यक देखिएको छ । तर, यहिबेला मुलुकको केन्द्रीय बैंकसमेत नेतृत्वविहीन छ । राज्यलाई सम्भावित आर्थिक मन्दीबाट कम असर पार्न केन्द्रीय बैंकले गर्ने निर्णयहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
तसर्थ, भावी गभर्नरमा हाम्रो भन्दा पनि राम्रोलाई नियुक्ती गर्न पाउने गतिलो अवसर समेत यतिखेर सरकारको सामुन्ने छ । आगामी गभर्नर जागिरे मानसिकताको भन्दापनि उच्च व्यवसायिक हुनुपर्नेतर्फ सरकारले ध्यान दिएमा कम्तिमा वित्तीय क्षेत्रले त्रासकै अवस्थामा राहतको पहिलो सास फेर्न सक्नेछ ।
मन्दीपछि विदेश, स्वदेश, यत्र, तत्र, सर्वत्र बेरोजगारी बढ्नेछ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा पनि ह्वात्तै बढ्ने छ । बजारमा चर्को मूल्यवृद्धिको अवस्था देखापर्ने छ । विश्वव्यापी प्रकोप भएकाले यसको समाप्तीपछि पनि कतिपय आवश्यक वस्तुको आयातमा अवरोध हुनेछ । त्यसैले आन्तरिक उत्पादनलाई बढावा दिन विभिन्न कार्यक्रम र परियोजना लागू गर्नुपर्नेछ । तर, यतिखेर मुलुकमा अर्थमन्त्री नै भूमण्डलीकरणका पक्षपाती छन् । वि.सं.४० को दशकमा तत्कालीन भूरा अर्थशास्त्रीहरूले पश्चिमाको सिको गर्दै निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउने पासा फ्याँकेका थिए । अहिले हाम्रो कृषि उत्पादनबाट न निर्वाह भएको छ, न निर्यात नै । बरु, तीस वर्षको अवधीमा सीमित कृषि उपज निर्यात गर्ने मुलुकबाट नेपाललाई शतप्रतिशत आयात गर्ने मुलुकमा रूपान्तरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्