Logo
Logo

‘लकडाउन’यता पशुपति आर्यघाटमा शव घट्यो (कारण यस्तो छ)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ चैत । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन छ । लकडाउन सुरु भएसँगै पशुपति आर्यघाटमा शव घट्न थालेको समाचार विभिन्न मिडियामा आइरहेको छ । पशुपति विकास कोषले पनि लकडाउनपछि पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको जनाएको छ ।
दैनिक ३० देखि ४० वटासम्म शव जलाइने पशुपति आर्यघाटमा लकडाउनपछि १० देखि १२ वटासम्म मात्र शव आउन थालेको छ । यसलाई विभिन्न कोणले विश्लेषण गर्न थालिएको छ । यही चैत ११ गतेदेखि सरकारले देश लकडाउनको घोषणा गरेको हो । त्यसयता हाल दैनिक १० देखि १२ शवमात्र आएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।
लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत घटेकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ । देश विदेशबाट हुने उडान हाल बन्द छ । विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको छ ।
यातायात सहज नभएपछि उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ । यातायात सहज भएका बेला काँठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काँठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो ।
पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले स्नान गराउन पाइने भएकाले पनि मृतकका आफन्तले आर्यघाट लैजान्छन् । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट शवदाहको सेवा उपलब्ध छ । विद्युतीय शवदाहतिर पनि बन्दाबन्दी अघिभन्दा शव घटेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।
विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए ।
पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड)को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल ९टिसिएन० ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुखसमेत रहनुभएका निर्देशक रेग्मीले जानकारी दिए ।
यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा शव बढी आउँथे । अन्यत्र शवदाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ । पशुपतिमा शव जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्रभन्दा सहज छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाल बन्दाबन्दी शुरु भएपछि उपत्यकामा दुर्घटनाबाट मर्नेको क्रम रोकिएको बताउँछन् । त्यसअघि दैनिक एक जना मानिस उपत्यकामा दुर्घटनामा परी मर्ने गरेको तथ्यांक महाशाखासँग छ ।
बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले शवदाह नगर्ने भन्दै विरोध जनाएका थिए । यसपछि मृतकका आफन्तले नै शवदाह गरेका थिए । बन्दाबन्दीका अवसरमा बेखर्चीले शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा समेत कोषले गरिसकेको छ । (राससको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्