Logo
Logo

वाणिज्य बैङ्कको अडिट गर्न पाँच विदेशी कम्पनीको निवेदन



काठमाडौं । वाणिज्य बैङ्कको अडिट गर्न पाँच कम्पनीले निवेदन दिएका छन् ।  राष्ट्र बैङ्कले मागेको आवेदनमा ५ विदेशी फर्मले निवेदन दिएका हुन् ।

राष्ट्र बैङ्कका अनुसार नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड को, जेभी एसबरबीए एण्ड बीके अग्रवाल भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड को ले आवेदन दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को सर्त अनुसार नेपाल राष्ट्र बैङ्कले १० वटा ठूला वाणिज्य बैंकहरुको लेखा परिक्षण अन्तर्राष्ट्रिय फर्महरुबाट गराउने प्रक्रिया छ । राष्ट्र बैङ्कले बैंकहरुको लेखापरिक्षण अन्तर्राष्ट्रिय फर्महरुबाट गराउने उद्देश्यले अडिट फर्म नियुक्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र जारी गरेको थियो ।

योग्यता पुगेका इच्छुक अन्तर्राष्ट्रिय अडिट फर्महरुले चैत २५ गते भित्र राष्ट्र बैंकमा निवेदन दिएका थिए । सहभागी मध्ये प्रतिस्पर्धात्म प्रतियोगिताका आधारमा उत्कृष्ट फर्म कम्पनीलाई छनोट गरिने छ । 

छनोट भएको फर्मले नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैङ्कको लेखापरिक्षण गर्नेछ ।

अडिटको अनुमानित खर्च ५ करोड रुपैयाँ राष्ट्र बैङ्कले बेहोर्नेछ । अडिट कम्पनी छनोट असार महिनासम्म टुंगिने राष्ट्र बैङ्कका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार अडिट फर्म छनोट भैसकेपछि २०८२ फाल्गुण १६ गते भित्र १० वटै वाणिज्य बैंकहरुको अडिटको काम सक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्