Logo
Logo

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : चन्द्र ढकाल


13
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताए ।

उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको बताए ।

‘नेपालको श्रमसम्बन्धी जुन रूपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा लिने गरेका छन् । हामीले सुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिबद्धताको लागि म आग्रह गर्दछु,’ उनले भने ।

अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्