पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले दैनिक ज्यालादारीमा काम गर्ने ४ सय ४४ जना श्रमिकको बिमा गरिदिएको छ । गाउँपालिकाले श्रमिकहरूलाई ३ लाख रुपैयाँका दरले १३ करोड ३२ लाख रुपैयाँ बराबरको बिमा गरिदिएको हो । गाउँपालिकाले आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडमा श्रमिकहरूको बिमा गरिदिएको हो ।
माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनु स्थानीय तहको जिम्मेवारी भएकोले श्रमिकहरूको बिमा गरिएको बताए । उनले अन्य क्षेत्रमा जस्तै श्रमजीवीको लागि पनि स्थानीय सरकारले महत्त्व दिएर बिमा गरिएको बताए । ‘सबै श्रमिकहरू अझै समेटिन सकेका छैनन्, आगामी वर्षहरूमा यस कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौँ ।’ उनले भने ।

गाउँपालिकाले सबै वडाका श्रमिकहरूको काम गर्ने क्रममा हुने दुर्घटना जोखिम राहतका लागि बिमा गरिदिएको जनाएको छ । गाउँपालिकाले सन् २०२४ अप्रिल ३० देखि एक वर्षसम्म लागु हुने गरी बिमा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिए ।
गाउँपालिका र बिमा कम्पनीबिच भएको सम्झौतामा बिमा लेख कायम रहेको अवधिमा बिमा लेखको परिभाषित दुर्घटनाको एक मात्र प्रत्यक्ष कारणबाट बितिमलाई भएको शारीरिक क्षतिमा बिमा लेखको तालिकामा उल्लेख भए बमोजिमको रकम बिमा कम्पनीले भुक्तानी दिने जनाइएको छ ।
सम्झौतामा दुर्घटनाबाट जीवित भए स्वयं बिमित, सो नभए बिमितले इच्छ्याइएको व्यक्ति, सो नभए बिमा ऐन, २०४९ को दफा ३८ अनुसार बिमितको आश्रीत व्यक्तिले बिमा लेख अन्तरगत भुक्तानी पाउने जनाइएको छ । गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष शंकर दर्लामीले स्थानीय सरकार भनेको श्रमजीवी नागरिकहरूको सरकार भएको अनुभूति दिलाउने काम भएको बताए । उनले बिमा कार्यक्रमले श्रमजीवीलाई कामप्रति उत्साहित र सुरक्षाको पनि आभास गराएको बताउँदै जोखिमको काम गर्ने श्रमजीवीहरूका विभिन्न समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।
स्थानीय सरकारले आफूहरूको स्वास्थ्यका लागि ध्यान दिएर बिमा गरिदिएकोमा श्रमजीवीहरू खुसी भएका छन् । दैनिक काम गर्दा हुन सक्ने जोखिम र आफूसङै आफ्नो परिवारको पनि स्वास्थ्य बिमा हुने भएपछि स्वास्थ्य क्षेत्रमा पहुँच बढेकोमा खुसी लागेको वडा नं. ३ का दुर्गा बहादुर कुमालले बताए ।
यस्तै दैनिक काम गरेको पैसाबाट बचत गरेर बिमा गर्न नसकेको अवस्थामा स्थानीय सरकारले नै स्वास्थ्य बिमा गरिदिएपछि अब दुर्घटना भएमा आर्थिक अभावले उपचारबाट वञ्चित हुन नपर्ने भएको ३ नं. वडा कसेनीका श्रमिक दलबहादुर रेस्मीले बताए ।














