Logo
Logo

इन्ड्राइभ नेपालमा बैधानिक, ५ करोड लगानीमा दर्ता



काठमाडौं । विगत तीन वर्षदेखि नेपालमा बिना दर्ता सञ्चालनमा रहेको अमेरिकी राइड सेयरिङ कम्पनी ‘इन्ड्राइभ’ दर्ता भएको छ । ५ करोड रुपैयाँ लगानी राखेर इन्ड्राइभ वैधानिकरुपमा नेपालमा दर्ता भएको हो ।

लामो समयदेखि सञ्चालनमा रहेपनि दर्ता नभएकाले पछिल्लो समय ट्राफिक प्रहरीले इन्ड्राइभ चालकलाई समातेर कारबाही गर्दै आएको थियो । २०७८ वैशाखमै दर्ता भएर सञ्चालनमा आउने बताएको इन्ड्राइभले हालसम्म पनि प्रक्रिया भने पूरा गरेको थिएन ।

अब भने कानुनीरुपमा दर्ता भई औपचारिकरुपमा सञ्चालनमा आउन लागेको इन्ड्राइभले चालकबाट कमिसन पनि लिने बताएको छ । यसअघि ‘पठाओ’ भन्दा केही कम रकममा सेवा दिइरहेको इन्ड्राइभले आफ्ना चालकहरुबाट कमिसन भने लिएको थिएन ।

दर्ता भएसँगै कमिसन पनि लिने तयारी गरेपनि कति प्रतिशत कमिसन लिने भन्नेबारे भने हालसम्म इन्ड्राइभले कुनै जानकारी गराएको छैन । इन्ड्राइभलाई पठाओको प्रतिस्पर्धी कम्पनीका रुपमा हेरिएको छ । यसले छोटो समयमा राम्रो बजार विस्तार गरिसकेको छ ।

नेपालमा सर्वप्रथम २०१६ मा शिक्षित भट्टले ‘टुटल’ नामको राइड सेयरिङ कम्पनी सञ्चालनमा गरेका थिए । त्यसको २ वर्षपछि आएको बंगलादेशी कम्पनी पठाओले टुटललाई विस्थापित गरेको थियो । हाल सजिलो, रिडेक्सलगायत केही कम्पनी नेपालमा रहेता पनि राइड सेयरिङमा पठाओको बर्चस्व कायम रहेकोमा केही समययता इन्ड्राइभ पठाओलाई तीव्र चुनौती दिएको छ ।

अमेरिकी कम्पनी इन्ड्राइभ नेपालसहित ४५ देशका ७०० भन्दा बढी सहरमा सञ्चालनमा छ । सन् २०१३ देखि सञ्चालनमा आएको इन्ड्राइभको एप २ खर्बभन्दा बढी पटक डाउनलोड भएको छ ।

प्रतिक्रिया दिनुहोस्