Logo
Logo

पार्टी एक ढिक्का रहेको एकीकृत समाजवादीको निष्कर्ष



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकताबद्ध रहेको निष्कर्ष निकालेको छ ।

सोमवार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाह फैलाइएको भन्दै पार्टी एक ढिक्का रहेको निष्कर्ष निकालेको हो ।

आइतवार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुन सक्ने भनेर टिप्पणी शुरु हुन थालेको थियो ।

सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भुमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए ।

उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य डा. वेदुराम भुसालले पार्टीका विषयमा अनावश्यक रुपमा बाहिर हल्ला मात्रै चलाइएको बताए । उनले आफूहरुको पार्टीभित्र कुनै समस्या नभएको बताए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले एकीकृत समाजवादीका कार्यकर्ता र समर्थकलाई हतोत्साही गराउनका लागि बालकोटमा बसेर एकीकृत समाजवादी फुटको हल्ला चलाइएको बताए ।

उनले योजनावद्ध रुपमा हल्ला चलाइएको भन्दै त्यसले आफूहरुलाई कुनै असर नपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्