Logo
Logo

सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।

संसद अधिवेशन सुरु हुनुअघि नै रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी ठगी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले आज बिहान ११ बजे शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा हुने छलफलका लागि प्रधानमन्त्री ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन ।

सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुङ्ग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्य व्यवस्थामा अलग अलग छलफल भएको थियो । तर त्यसबाट पनि सहमति जुट्न नसकेपछि सभामुखले संसद अधिवेशन नै अन्त्य गरेका थिए । संसद्को बर्खे अधिवेशन यहि बैशाख २८ गते अर्थात भोलिदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्