Logo
Logo

नेकपा एसको स्थायी समिति बैठक शनिबार बस्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते बस्ने भएको छ ।

बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्ताबेज, विधान दस्ताबेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्ताबेज र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी र्दिए ।

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको खतिवडाले जानकारी दिए ।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

देशभर साङ्गठनिक अवस्था, जन वर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनीतिक दल, सङ्घसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्