Logo
Logo

माओवादीका कारण रोकियो गण्डकी सरकार विस्तार



पोखरा । प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका कारण गण्डकी प्रदेश सरकार विस्तार अड्किएको छ । माओवादीले भने अनुसार मन्त्रालय नपाएकाले मन्त्रीको नाम नदिँदा गण्डकीमा मन्त्रिपरिषद् विस्तार रोकिएको हाे ।

चैत २५ गते मुख्यमन्त्रीसँगै शपथ लिएका माओवादीका हरिबहादुर चुमान भने अहिले अर्थमन्त्री छन् । सोही समयमा विनाविभागीय मन्त्रीको शपथ लिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक मन्त्रालय सम्हालेका छन् ।

सोमबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट दुईजना मन्त्री थपेका थिए । मुख्यमन्त्री अधिकारीले एमालेबी सीताकुमारी सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका छन् भने बेदबहादुर गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् ।

हालसम्म एमालेबाट मुख्यमन्त्रीसहित ३ जना मन्त्री बनिसकेका छन् भने माओवादीका एक र स्वतन्त्रका एकजना मन्त्री छन् । ७ सदस्यीय मन्त्रिपरिषदमा अझै २ मन्त्रालय खाली छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालयमा मन्त्री पठाइएको छैन । माओवादीले बाँकी दुई वटै मन्त्रालयमा आफ्नो दाबी गरेको छ ।

तर, लिखित सहमति नहुँदा मन्त्रीका नाम दिन नसकेको ग०डकी प्रदेशका माओवादी प्रमुख सचेतक कुसुम बुढाको भनाइ छ । उनले भनिन्, ‘मौखिक सहमति हुँदा माओवादीले ३ मन्त्रालय लिने भन्ने हो । अहिले संख्यामा यताउति भइरहेको छ । त्यसैले मन्त्री पठाउन सकेनौँ ।’ तीन मन्त्रालयमा आफ्नो अडान कायम रहेको उनले बताइन् ।

पहिलो क्याविनेटमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री थिए । दोस्रो क्याबिनेटमा भने कांग्रेसका ५ र माओवादीका २ मन्त्री थिए । मुख्यमन्त्रीको दाबी गरिरहेका चुमान मन्त्रीमै फर्किएका छन् ।

दुई वटामात्रै मन्त्रालय पाउँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिने माओवादीको भनाइ छ । माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटालाई व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले पनि पार्टीभित्रका अन्य नेताहरूको सेटलमेण्ट गर्न चुनौती रहेको छ ।

गण्डकीमा माओवादीका ८ सांसद छन् । त्यसमध्ये कृष्ण धिताल सभामुख बनिसकेका छन् । मुख्यमन्त्री खगराज अधिकारी सर्वोच्चमा परेको रिटको अन्तिम आदेश नआउँदासम्म सरकार विस्तार गर्ने योजनामा छैनन् । उनले माओवादीलाई ३ मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । उनले तत्कालका लागि काम गर्न मन्त्री पुगेको समेत बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्