Logo
Logo

तेस्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीसहितको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । उनले अहिले बिहान मुख्यमन्त्री दावी पेश गर्ने बताए । कार्कीले भने, ‘हामी अहिले प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दावी पेश गर्दैछौँ ।’

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् ।

उनी यसअघि दुईपटक मुख्यमन्त्री बनेका छन् । उनी गत २४ पुस २०७९ पहिलोपटक माओवादी, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।तर, केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए ।

त्यसपछि पुनः सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । पुनः केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् । दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ । आजै समर्थनको सनाखत गर्ने तयारी गरेका २ दलले आफ्ना सांसदलाई विराटनगर बोलाएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार मध्यरातमा दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसैबीच प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेका आह्वान असंवैधानिक भएको दावी गर्दै मुख्यमन्त्री केदार कार्की सर्वाेच्च अदालत जाने तयारीमा छन् ।

एउटा सरकार हुँदाहुँदै अर्काे सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको उनको दावी छ । ‘संविधानले दुईवटा सरकारको परिकल्पना गरेको छैन’ उनले भने, ‘त्यसैले प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जानेछु ।’

प्रतिक्रिया दिनुहोस्