Logo
Logo

धरापमा मधेश सरकार, नयाँ सरकार गठनको तयारीमा एमाले-माओवादी


3.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाको फुटले मधेश प्रदेश सरकार संकटमा परेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् ।

जसपा नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै एमाले–माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेका हुन् । स्रोतका अनुसार माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ ।

माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् । प्रदेशसभा सदस्य युवराज भट्टराई समीर उद्योग मन्त्री छन् भने संसदीय दलका नेता भरत साहलाई वन मन्त्रालयको जिम्मेवारी दिएको छ । तर, साहले सो मन्त्रालय सम्हालेका छैनन् ।

मुख्यमन्त्री सरोज यादवले विश्वास मत लिने बेला माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए । तर, वन मन्त्रालय दिएपछि माओवादी रुष्ट छ ।

नयाँ सरकार गठनबारे एमाले र माओवादीबीच बिहीबार जनकपुरमा वार्तासमेत भएको छ । स्रोतका अनुसार मुख्यमन्त्री पहिला एमाले कि माओवादीको हुने भन्ने टुंगो लाग्न बाँकी छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन चाहिन्छ । जसपाका यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, नेकपा एस र लोसपाको समर्थन छ । एमालेका २५, माओवादीका ९, नेकपा एसका ७ र लोसपाका ८ सांसद छन् ।

जसपा नेपालका १९ जना सांसद छन् । सो पार्टी विभाजन भएपछि कति जना सांसद अशोक राईको पक्षमा जान्छन् भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

२०७९ पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका यादव भने त्यसयता लगातार मधेश प्रदेशका मुख्यमन्त्री हुन् । करिव १६ महिना कार्यकालमा मुख्यमन्त्री यादवले चार पटक विश्वासको मत लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्