Logo
Logo
सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री सोडारीद्वारा तेस्रोपटक विश्वासको मत लिने तयारी, एमाले अझै अनिर्णित


819
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले फेरि विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि दुई पटकसम्म विश्वासको मत लिने तयारी गरेर पनि पछि हटेका सोडारीले तेस्रोपटक तयारी थालेका हुन् ।

मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले यसअघि वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर, नेकपा एमालेले तत्काल केन्द्रमा छलफल नभएको र केन्द्रीय नेतृत्वसँग परामर्श नगरी विश्वासको मत नदिने बताएपछि उनी ब्याक भएा थिए ।

त्यसपछि फेरि मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने प्रायोवनले प्रदेशसभा बैठक आह्वान गर्न लगाएका थिए । त्यो दिन पनि एमालेले पुरानै अडान दोहोराएपछि अर्काे सूचना जारी नहुँदासम्मको लागि भन्दै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

अहिलेसम्म प्रदेशसभा बैठक कहिले बस्ने भन्ने निश्चित छैन । तर, यसैबेला मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मतको लागि मुख्यमन्त्री सोडारीले केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल र परामर्श गरिरहेका छन् । केन्द्रमा भएकै छलफलको आधारमा उनले जेठ ३ गते विश्वासको मत लिने तयारी गरिएको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले बताए । उनले भने, ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीज्यूलाई जेठ ३ गते विश्वासको मत लिन तयारी गर्न निर्देशन दिनुभएको हो । सोही अनुसार तयारी भइरहेको छ ।’

एमाले अझै अनिर्णित

मुख्यमन्त्री सोडारीले ३ गते विश्वासको मत लिने तयारी गरिरहेको भएपनि एमाले अझै विश्वासको मत दिनेबारे अनिर्णित छ ।मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा ठोस सहमति नभएको एमालेले जनाएको छ ।

एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रबाट कुनै निर्देशन नआएको हुँदा ३ गते नै विश्वासको मत दिने विषयमा कुनै तयारी नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त हुँदा पनि एमालेले अन्तिम समयमा मात्रै समर्थन गरेको थियो । समर्थन गरेपनि एमाले सरकारमा सहभागी छैन ।

सोडारीले वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता)पक्ष र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनको दाबी असंवैधानिक रहेको भन्दै नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)का लक्ष्मण किशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्