काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । राई नेतृत्वको जनता समाजवादी पार्टीले तीनजनालाई सरकारमा पठाउने तयारी गरेको छ ।
जसपा महासचिव इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झा सरकारमा सहभागी हुनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीको नाम मागेपछि जसपाले उक्त नाम पठाएको हो ।

यादव स्वास्थ्यमन्त्री, खान राज्यमन्त्री र झा विनाविभागीयमन्त्री बन्ने बुझिएको छ । उनीहरूको शपथ सम्भव भए आज साँझ वा मंगलबार बिहान हुने गरी तयारी भइरहेको छ ।
सरकारमा सहभागी जसपा नेपालका अध्यक्ष यादव र दीपक कार्कीले पदबाट आजै राजीनामा दिइसकेका छन् । पार्टी फुटेपछि राई नेतृत्वको जसपामा लागेका नवलकिशोर साह सुडी यसअघि नै वन तथा वातावरणमन्त्री छन् ।














