
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग संवाद जारी राखेका छन् । उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।
कांग्रेस संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएपछि बालुवाटार पुगेको प्रमुख सचेतक लेखकले जानकारी दिए ।
आज बस्ने संसद बैठकमा अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेकाले सदनको अवरोध हटाउन प्रधानमन्त्री बिहानैदेखि सक्रिय भएका हुन् ।
कांंग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।














