Logo
Logo

कोशी प्रदेशमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


0
Shares

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए ।

तर, उनीहरूलाई अहिलेसम्म मन्त्रालयको जिम्मेवारी दिइएको छैन । स्रोतका अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय लिने पक्काजस्तै भएको छ । उक्त मन्त्रालयको जिम्मा राम रानाले पाउने एमाले स्रोतले दाबी गरेको छ ।

यस्तै माओवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । ‘बिहीबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘माओवादीले मन्त्रीहरूको नाम दिने बित्तिकै मन्त्रीहरू नियुक्त हुन्छन् ।’

‘आजसम्ममा मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमालेको भागमा र तीन मन्त्रालय माओवादीको भागमा पर्ने निश्चित छ,’ एक नेताले भने, ‘आर्थिक एमालेले लिने र भौतिक पूर्वाधार माओवादीले लिने करिबकरिब सहमतिजस्तै छ ।’

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रिपरिषद्मा समावेश भएकाहरूलाई नै पुनः मन्त्रिपरिषद्मा पठाउने माओवादीको तयारी छ । एमालेबाट पनि खोटाङका पाँचकर्ण राई, मोरङका लिलाबल्लभ अधिकारी, भोजपुरकी सिर्जना राई र धनकुटाका निरन राईलाई मन्त्री बनाउने तयारी छ ।

मन्त्रालयको र मन्त्रीको अन्तिम टुङ्गो लगाउन नेताहरूले आन्तरिक छलफललाई तीव्र बनाएको स्रोतले बताएको छ । माओवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने सम्भावना छ ।

बाँकी मन्त्रालयमध्ये एक मन्त्रालय खाली राखेर अन्य मन्त्रालयमा मन्त्री पठाउने मुख्यमन्त्रीको तयारी छ । नेकपा एकीकृत समाजवादी हाल प्रतिपक्षमा बसेको छ ।

यस्तै जसपा नेपालका सांसद निर्मला लिम्बूले पनि आफूलाई मन्त्रिपरिषद्मा समावेश गराउनु पर्ने दबाब दिइरहेको बताइएको छ । सोही कारण पनि एक मन्त्रालय खाली राख्नु परेको एमाले स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्