काठमाडौं । सरकारले स्वदेशी उद्योगलाई कर्जाको ब्याजमा अनुदान दिने भएको छ । सरकारले लघु, घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म पूँजी भएका मझौला उद्योगलाई कर्जामा ब्याज अनुदान दिने तयारी थालेकोे हो ।
चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्न सरकारले यस्तो व्यवस्था ल्याएको हो ।

कार्यक्रम कार्यान्वयनका लागि ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ समेत स्वीकृत भएको छ । यो सँगै अब लघु, घरेलु तथा साना उद्योग र २० करोडसम्म पूँजी भएका मझौला उद्योगले लिएको व्यवसायिक कर्जामा ५ प्रतिशत ब्याज अनुदान पाउने छन् ।
अझ महिलाहरुले सञ्चालन गरेका उद्योगहरुले लिएको कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने कार्यविधिमा उल्लेख छ । यसका लागि निश्चित मापदण्ड तोकेर उद्योगको छनौट गरिनेछ । यस्तो नीतिले लघु, घरेलु, साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन हुने र स्वदेशी उत्पादनमा बल पुग्ने सरकारको विश्वास छ ।














