काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको भन्दै गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गरेका छन् ।
नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । जसलाई सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रुपमा बुझेको बताएका छन् ।

‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ ।
उनले यस्ता सबै हर्कत भइरहे पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भनेका छन्, ‘निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।’
यो पनि पढ्नुहोस्
–कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी











