Logo
Logo

धितो पत्र बोर्ड र वाणिज्य बैङ्क दलकाे भागबन्डामा


945
Shares

काठमाडौं । नेपाल धितो पत्र बोर्डको अध्यक्ष र राष्ट्रिय वाणिज्य बैङ्कको सीईओ भागबन्डा गरेर लिने दुई दलबिच सहमति भएको छ । सहमति अनुसार धितो पत्र बोर्डको अध्यक्ष पद नेकपा माओवादी केन्द्रले र राष्ट्रिय वाणिज्य बैङ्कको सिइओ नेकपा(एमाले)ले लिनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र अर्थमन्त्री वर्षमान पुनबिच बोर्ड र बैङ्कको नेतृत्व भागबन्डा गर्ने सहमति भएको हो ।

नेपाल धितो पत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमा भने सीईओ छनौट प्रक्रिया अघि बढेको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितो पत्र बोर्डको अध्यक्ष बन्ने दौडमा रहेकामध्ये डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, कृष्ण बहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ अन्तिम पाँचमा छानिएका छन् । उनीहरूमध्ये सन्तोष नारायण श्रेष्ठ नेपाली काँग्रेस निकट हुन् । बाँकी प्रतिस्पर्धी माओवादी केन्द्र निकट मानिन्छन् ।

धितोपत्र बोर्डमा एमालेका कुनै पनि क्याडर नभएपछि एमाले काँग्रेस निकट भएपनि सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन दबाव दिँदै आएकाे थियाे । 

बैङ्कको सीईओ बन्न दौडमा रहेकामध्ये कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, बिष्णुदेव यादव र शंकर केसीको नाम टप पाँच जनामा परेको छ । उनीहरूमध्ये नेपाल बैंकका पूर्व सीईओ समेत रहेका कृष्ण बहादुर अधिकारी र बैंकका निमित्त सीईओ देवेन्द्र रमण खनाल प्रवल दावेदार हुन् । खनाल माओवादी निकट मानिन्छन् । 

नेपाल बैंकका पूर्व सीईओ समेत रहेका कृष्ण अधिकारी एमालेसँग नजिक छन् । उनलाई वाणिज्य बैङ्कको सीईओ बनाउने एमालेको तयारी छ । 

प्रतिक्रिया दिनुहोस्