Logo
Logo

गण्डकी प्रदेशमा आम्दानी र खर्च कम्जाेर


189
Shares

पोखरा । गण्डकी प्रदेशको बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वषकोे १० महिनामा ३७ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षको हालसम्म चालुतर्फ ४१ प्रतिशत र पुँजीगततर्फ ३५ प्रतिशत गरी जम्मा ३७ प्रतिशत बजेट खर्च भएको गण्डकी प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ । यो अवधिमा आन्तरिक आम्दानी पनि लक्ष्य अनुसार प्राप्त भएको छैन ।

चालु वर्षमा ५ अर्ब १६ करोड आन्तरिक आम्दानीको लक्ष्य लिएको प्रदेश सरकारले हालसम्म २ अर्ब ७४ करोड अर्थात् ३३ प्रतिशत मात्रै राजस्व उठाउन सकेको छ । नेपाल सरकारको वित्तीय हस्तान्तरण २५ प्रतिशत अर्थात् ८ अर्ब ६८ करोड भएको छ भने राजस्व २४ प्रतिशत अर्थात् ५ अर्ब ९९ करोड पाएको छ ।

नगद मौज्दात पनि लक्ष्यभन्दा कम २ अर्ब ३३ करोड मात्रै बाँकी छ । प्रदेश सरकारले आन्तरिक ऋण लिन सकेको छैन । सरकारले १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य लिएको थियो । तर ऋण लिने कानुनी आधार सरकारसँग छैन । यस सम्बन्धी कानुन निर्माण नभएकाले आन्तरिक ऋण लिन नसकिएको अर्थ सचिव बलराम रिज्यालले जानकारी दिए ।

हरेक वर्ष आन्तरिक ऋण उठाउने गरी बजेटमा व्यवस्था भए पनि हालसम्म कुनै वर्ष यस्तो ऋण उठाउन सकेको छैन । नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ३ अर्ब ४४ करोड पाएको छ । गण्डकीमा पर्वतारोहण, ऊर्जा लगायत विभिन्न शीर्षकमा रोयल्टी आउँछ ।

रिजालका अनुसार यो वर्ष बजेट खर्च ६५ प्रतिशत हाराहारी हुने अनुमान छ । ‘बजेट खर्च जेठ र असारमा बढी देखिन्छ । ६५ देखि ७० प्रतिशत खर्च हुने अनुमान हामीले गरेका छौँ,’ उनले भने ।

प्रदेश सरकार मातहतको मात्रै होइन, आन्तरिक राजस्व कार्यालयले उठाउने राजस्व पनि यो वर्ष घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा ११ प्रतिशत राजस्व कम उठेको हो । वैशाख मसान्तसम्म ४ अर्ब ८२ करोड राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले ८९ प्रतिशत मात्रै उठाएको छ । यो अवधिमा ४ अर्ब २९ करोड रुपैयाँ सङ्कलन भएको प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । गत वर्ष यही अवधिमा १ सय ७ प्रतिशत प्रगति हासिल गरेको थियो ।

आयकरतर्फ ९६ प्रतिशत अर्थात् २ अर्ब ४९ करोड सङ्कलन गरेको छ भने अन्तःशुल्कमा ७९ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ८५ प्रतिशत राजस्व सङ्कलन भएको शर्माले बताए । कार्यालयले यो वर्ष ६ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्