काठमाडौं । जेठ पहिलो हप्ता मात्रै उत्तरी नाकाबाट १ हजार बढी विद्युतीय गाडी भित्रिएका छन् । जेठ १५ मा आउने बजेटसँगै कर बढ्ने डरले व्यवसायीले पहिलो हप्ता नै एक हजार गाडी छुटाएका हुन् ।
गत वैशाख महिनाभरि उत्तरका २ वटा नाकाबाट १ हजार गाडी भित्रिएका थिए । तर जेठ लागेपछि ७ दिनमै वैशाखमा भन्दा बढी गाडी आयात भएका छन् । चिनियाँ ब्रान्डका सबै गाडी उत्तरी नाका रसुवागढी र तातोपानीबाट आउँछन् ।

जेठ ७ गतेसम्म रसुवा भन्सार कार्यालयबाट ४ सय ८८ वटा गाडी छुटेका छन् । जसमा बीवाईडीका अट्टो थ्रि ३ सय ३६ भित्रिँदा विद्युतीय माइक्रो ९४ वटा भित्रिएका छन् । सामान्य अवस्थामा बढी गाडी रसुवा भन्सार कार्यालयबाट भित्रिन्छन् ।
जेठ १ देखि ७ गतेसम्म रसुवाको तुलनामा तातोपानी नाकाबाट बढी भित्रिएको देखिन्छ । तातोपानीबाट ७ दिनमै निजी प्यासेन्जर गाडी ५ सय १२ वटा भित्रिएका छन् । यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १ सय किलोवाटसम्मका गाडी छन् । त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन् ।
व्यवसायीले जेठ १५ गते आउने आगामी वर्षको अर्थिक विधेयकमा कर बढ्ने आकलनमा धमाधम गाडी छुटाएका छन् । चालू आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १४ सय ४ वटा भित्रिएका थिए ।
व्यवसायीले जेठ १५ मा सरकारले कर बढाए बढी फाइदा हुने सोचमा धेरै गाडी छुटाएका हुन् । भन्सारका अधिकारीहरुका अनुसार उत्तरीसँगै दक्षिणी नाकाबाट समेत विद्युतीय गाडी छुटेका छन् ।
लगातार गाडी छुटाए हालसम्मकै बढी गाडी जेठमा भित्रिने भन्सारका कर्मचारीको आकलन छ । यता बजेटपछि गाडी महंगो हुने डरले सामान्य अवस्थाभन्दा अहिले खरिदकर्ता बढी रहेको व्यवसायी बताउँछन् ।














