Logo
Logo

श्रीराम चिनी मिल सञ्चालन गर्न जग्गा बेचेर ३१ करोड ऋण तिरिँदै


378
Shares

काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमती जुटेको छ । उद्योग सञ्चालन सम्बन्धमा बिहीबार गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ ।

महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको निष्कर्ष निकालेको थियो । कार्यदलले जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताएको थियो । कार्यदलको निर्णय अनुसार उद्योगको नाममा रहेको करिब ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवं मेसिनहरूको मर्मत सम्भार गरी तत्काल संचालन गर्ने शर्तसहित सडकसँग जोडिएको जग्गा बेच्न दिने सहमती भएको छ ।

उद्योग विगत चार वर्षदेखि सञ्चालन हुन नसकेको थिए । उद्योगका लगानीकर्ताले थप लगानी गर्न तथा ऋण तिर्न नसकेको देखिएकाले रुग्ण उद्योगको पहिचान सम्बन्धी कार्य गर्ने कार्यदलमा सहमती भएको छ । उद्योगको सुविधासहित रूपान्तरण गरी सञ्चालनका लगि अगाडी बढाउन उपयुक्त देखिने कार्यदलको ठहर छ ।

उद्योग सञ्चालन गर्दा उखु किसानको मिलसँग आबद्ध गराउन उखुको पर्याप्तता बढाउन र उखु किसानले बिक्री गर्ने तथा उद्योगले किन्ने चक्र मिलाउनका लागि उद्योगको कमाण्ड क्षेत्र बनाइ गर्न सकिने कार्यदलको सुझाव छ ।

हाल उद्योगका मेसिन औजार तथा जग्गा नेपाल बैंक लिमिटेडमा धितो रहेको र करिब रु ३१ करोड सावाँ–ब्याजसहित ऋण रहेको एवं उक्त बैंकले लिलामी प्रक्रियासमेत अगाडि बढाएको हुँदा सो प्रक्रिया सम्बन्धमा समेत आवश्यक सहजीकरण हुनुपर्ने कार्यदलले सुझाव दिएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री भण्डारीले उद्योग सञ्चालनका लागि सहमती जुटेकामा खुसी व्यक्त गरे । उनले भने, ‘तीनै पक्षबीच सहमती जुटेकामा सबैभन्दा खुसीको कुरा सरकारका लागि हो, यो सन्देश म प्रधानमन्त्री ज्यूसम्म पुर्याउँछु र अर्थमन्त्रीसँग छलफल गरेर सरकारका तर्फबाट गर्नुपर्ने पहलकदमी अगाडि बढाउँछु ।’

विसं २०४९ मा स्थापना भएको उद्योग २०७७ सालदेखि बन्द छ । झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको उद्योगको नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गरेका छन् । जग्गाको भने लिलाम गरिएको छैन । स्थानीयको चर्को विरोधका कारण उद्योग अन्यत्र सार्न नसकिएपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्