Logo
Logo

पेवेल र सजिलो पेलाई गैर कानुनी कारोबारको आरोप


189
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पेवेल र सजिलो पेले गैर कानुनी कारोबार गर्ने गरेको आरोप लाग्ने गरेको छ । उनीहरूले सुन तस्करी, हुन्डी र क्रिप्टाको गैर कानुनी कारोबारमा मुछिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले यी दुई कम्पनी अवैध कारोबारमा संलग्न रहेको देखिएको छ । सीआईबीले नेपाल राष्ट्र बैंकलाई दुई कम्पनीको खाता रोक्का गर्न पत्राचार गरेपछि पे वेल र सजिलो पेको अवैध कारोबारको रहस्य खुलेको हो ।

सीआइबीले काटेको पत्रका आधारमा नियामक नेपाल राष्ट्र बैंकले दुई कम्पनीको खाता रोक्कासमेत गरेको छ । ‘भुक्तानी सेवा प्रदायक संस्थाहरू पे वेल नेपाल प्रालि अनामनगर काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि बालुवाटार काठमाडौंबाट भइरहेको कारोबारहरू नियामयकी अनु पालना सम्बन्धित छानबिनको क्रममा रहेको हुँदा उपयुक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

प्रहरीका अनुसार सुन तस्करीको पैसा हुण्डी र क्रिप्टोमार्फत लेनदेन हुँदा एकै व्यक्तिको मोबाइल वालेटबाट करोडौँको कारोबार भएको देखिएको छ । वालेटबाट हुन्डीको कारोबार भएको देखिएपछि सीआईबीले वालेटकै मिलेमतोमा यस्तो भएको हुनसक्ने भन्दै थप अनुसन्धान अगाडी बढाएको छ ।

पे वेल र सजिलो पेले गैर कानुनी रुपमा आन्तरिक रेमिट्यान्सको काम गरेकोसमेत पाइएको छ । राष्ट्र बैंकको प्रचलित व्यवस्था अनुसार मोबाइल वालेट कम्पनीले आन्तरिक रेमिट्यान्सको काम गर्न पाउँदैनन् । तर आन्तरिक रेमिटेन्स भन्दै यी दुई कम्पनीले विदेशबाट आएको हुन्डीको पैसा ग्राहकहरूलाई भुक्तानी दिने काममा संलग्न देखिएको प्रहरीको भनाई छ ।

सीआईबीले पत्र काटेपछि राष्ट्र बैंकले यस विषयमा ‘विशेष इन्सपेक्सन’ गरेको थियो । इन्सपेक्सनका क्रममा राष्ट्र बैंकले जारी गरेको नीति निर्देशन विपरित दुई वालेट कम्पनीले कारोबार गरेको देखिएपछि उनीहरूको खाता रोक्का गरेर थप अनुसन्धान अघि बढेको हो ।

‘वालेट कम्पनीमा शङ्कास्पद कारोबार देखिएको छ । प्रहरीसँग समन्वय गरेर थप अनुसन्धान भइरहेको छ ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘मिलेमतो प्रमाणित भए लाइसेन्स खारेज हुन्छ । संचालकहरु जेल जान्छन् ।’

प्रतिक्रिया दिनुहोस्