Logo
Logo

मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने


63
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुनसँग भेटेको छ ।

कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।

भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात् चौथो किस्ताबापत ५ अर्ब ५९ करोड रूपैयाँ (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकासा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो। भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताए ।

नेपालको अर्थतन्त्र सुधार र आर्थिक स्थिरताका लागि आइएमएफले सहयोग गर्दै आएकोमा धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्