काठमाडौं । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बेलाबेला कटुतापूर्ण र सुमधुर हुने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्धले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याउने गर्छ ।
पार्टी एकीकरणदेखि नाटक र नौटङ्कीसम्म पुगेका यी दुई नेताको सम्बन्ध उतारचढावपूर्ण छ । स्थायी शत्रु र मित्र नहुने राजनीतिको आख्यान ओली र प्रचण्ड सम्बन्धमा मेल खान्छ ।

अहिले चार महिनायता प्रचण्डले वामपन्थीलगायतको गठबन्धन सरकारको नेतृत्व सम्हालिरहेका छन् । गत फागुन २१ गते नेपाली काँग्रेससँगको सत्ता सहकार्य तोडेका प्रचण्डले नेकपा एमालेलगायतका दलहरूसँग सहकार्य गर्दै आएका छन् । सरकारको नेतृत्व प्रचण्डले गरेपनि सत्ताको चाबी भने ओलीको हातमा छ ।
आगामी आर्थिक वर्षको बजेटसँगै गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रबीच दूरी बढेको छ । अहिले प्रचण्डले सरकारको नेतृत्व गरिरहे पनि उनी बेचैनमा छन् । त्यसैले उनले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी गरिरहेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने– ‘बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुरा आउँछन् । अर्कोले कुरा गर्दै छ रे केही दिनपछि सरकार जाँदै छ रे भन्ने र तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ, यो भन्न थालेको म प्रधानमन्त्री भएको मैले नै भन्थे, सायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला । अब जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्ध पनि गतिविधि गर्ने हो ।’
दुई कम्युनिष्ट नेता ओली र प्रचण्डबीच एक–अर्कोलाई साथ दिने तर विश्वास गरी नहाल्ने दुवै नेताको चरित्र हो । पार्टीको एकीकरण गर्दै संयुक्त नेतृत्वमा पुगेका ओली र प्रचण्डबीचको विगतको सम्बन्धलाई नियाल्ने हो भने त्यसमा न्यानोपनभन्दा चिसोपन बढी देखिन्छ ।
माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउने आधार बनेको १२ बुँदे समझदारीमा भूमिका निर्वाह गरेका ओली त्यसपछि माओवादीका कटु आलोचक बनेका थिए । २०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी पहिलो ठूलो दल बन्यो । माओवादी पहिलो दल हुँदा एमाले तेस्रो दल भयो । प्रचण्ड दुई क्षेत्रबाट निर्वाचित भएर सत्तामा पुग्दा ओली झापाबाट पराजित भए । त्यो बेला ओली माओवादी र प्रचण्डका समेत कट्टर आलोचक थिए ।
तर, २०७५ सालमा ओलीले प्रचण्डसँग पार्टी एकीकरण गरेर नेकपा बनाए । पार्टी एकीकरण गरेपछि बालुवाटारमा अणुबमले पनि मार्न नसक्ने दाबी गरिएको ‘जिन्को’ नामक विरुवा रोपेर कसैले फुटाउन नसक्ने सन्देश दिए ।
तर, तीन नबित्दै नेकपा फुट्यो । तत्कालीन नेकपाका नेताहरू प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई बिलखबन्धनमा पारेपछि उनले २०७७ पुस ५ र २०७८ जेठ ७ गते दुई पटक संसद् समेत विघटन समेत गरेका थिए ।
विवाद चुलिँदै जाँदा सर्वोच्च अदालतले नेकपा नै खारेज गरिदियो । एमाले र माओवादी केन्द्र ब्युँतिए । एमालेबाटै फुटेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी पनि जन्मियो । सर्वोच्चले संसद विघटनलाई असंवैधानिक ठहर गरिसक्दा पनि ओलीले भने आफूले गरेको संसद् विघटन उचित थियो भन्ने दाबी गरिरहेका छन् । त्यसका लागि उनले विभिन्न तर्क गर्दै आइरहेका छन् ।
गत जेठमा काठमाडौँको भृकुटीमण्डपमा काठमाडौँ जिल्लाको सातौं अधिवेशनमा बोल्दै ओलीले संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको बताएका थिए ।
उनले भनेका थिए– ‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस छ गते संसद् चाहीँ भंग नगरेको भए हुन्थ्यो । संसद् भंग किन गर्नुपर्यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौं । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्याएका थियौं । झन्डै दुई तिहाईको स्थिति हामीले बनाएका थियौं । पार्टी भित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन, चलाई सक्नु छैन । विकास, निर्माणको काम भएको छ, अरु काम भएको छ । पुनःर्निर्माणको काम भएको छ । सबै कामहरु भएको छ, तर देख्दैन, आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठूलो गर्या छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज एमाले भन्न पाउदैन थियौं हामीले ।’
पछिल्लो समय राजनीतिक घटनाक्रम डर, त्रास, धोका, आरोप र प्रत्यारोपबाट गुज्रिरहेको छ । सत्ता गठबन्धनभित्रै बढेको असन्तुष्टि र नेताहरूको अभिव्यक्तिले पुष्टि गर्छ । यसले बारम्बार टुट्दै र जुट्दै आएको ओली र प्रचण्डको अहिलेको सहकार्य कहिलेसम्म होला ? भन्ने प्रश्न उठेको छ ।














